Shittalpati
बुधबारसम्म मनसुन सक्रिय, सतर्कता रहन आग्रह

पाल्पा, आगामी बुधबारसम्म देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले  जनाएको छ ।

विभागले सोमबार देशका पहाडी भू–भागका एक–दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरेको थियो । कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा धेरै भारी वर्षा मापन गरेको छ । सोमबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराईका एक–दुई स्थान र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको प्रक्षेपण गरिएको थियो । यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागद्वार मौसम बुलेटिमा उल्लेख छ ।

मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । बुधबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ । विभागले आगामी तीन दिन वर्षाको गतिविधि बढ्ने भएकाले विशेष गरी सुन्तला रङले सड्ढेत गरिएका जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले देशका विभिन्न जिल्लामा बहने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (फ्ल्यास फ्लड) को जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भएर बहने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ । त्यसैगरी, ताप्लेजुङ, झापा, धनकुटा, सङ्खुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम) तथा आसपासका जिल्लाबाट बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ ।

विभागले उच्च जोखिम भएका क्षेत्रमा नदी तटीय बस्ती, होचा भूभाग तथा खोलानाला आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । आवश्यक परे सुरक्षित स्थानमा जान तयारी अवस्थामा रहन तथा स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी हुने सूचना तथा पूर्वसूचना नियमित रूपमा पालना गर्न पनि विभागले अनुरोध गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update