पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा छैटौं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विद्यालय भित्र लुकेर रहेका खेल प्रतिभाहरूको पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने, विद्यार्थीहरुको शारीरिक, मानसिक तथा नैतिक विकास गराउने अभियानका साथ ३ दिने प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताले विद्यालय तहका बालबालिकामा खेलकुदको विकास, प्रतिभा पहिचान र स्वस्थ जीवनशैली विकास गर्न महत्वपूर्ण भुमिका खेल्नेछ । प्रतियोगितामा १२ माध्यमिक, २ वटा आधारभुत गरी १४ वटा विद्यालयका ३२४ जना विद्यार्थीहरु विभिन्न खेलमा सहभागी भएका छन् । गाउँपालिका शिक्षा शाखाको आयोजनामा भएको प्रतियोगितामा छात्र, छात्रातर्फ, भलिवल, कवड्डी, एथेलेटिक्सतर्फ एक सय मिटर, दुई सय मिटर, आठ सय मिटर र पन्ध्र सय मिटरसम्म दौड, फिल्डतर्फ हाईजम्प, लङ्ग जम्प, त्रिपल जम्प ज्यावलिङ्ग थ्रो लगायतका खेलहरु सञ्चालन हुने छन् । पुस १४ गते देखी १६ गते सम्म सञ्चालन हुने प्रतियोगिता वडा नं. ५ को कटौजेपानी पालिकास्तरीय खेलमैदानमा भएको छ ।
प्रतियोगिताको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले बालबालिकामा अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रतियोगिताले बालबालिकाको शारीरिक तन्दुरुस्ती सुधार्नुका उनीहरुको मानसिक तनाव कम गर्न, पढाइप्रति एकाग्रता बढाउन र नकारात्मक क्रियाकलापबाट टाढा राख्न मद्दत गर्ने अध्यक्ष भट्टराईले बताए । खेलकुदमार्फत बालबालिकाको सबै खाले विकास गर्न, बालबालिकालाई जित्ने र सिक्ने अभ्यास गराउन महत्वपूर्ण भमिका रहने पालिका उपाध्यक्ष युवराज थापाले बताए ।
प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट स्थानीय स्तरमै खेलकुद संस्कृतिको विकास गराउनुका साथै स्वस्थ, अनुशासित र सक्षम जनशक्ति उत्पादनमा सहयोग पु¥याउने बताए । सामाजिक विकास समितिका संयोजक प्रदिप पौडेलले प्रतियोगिताले नयाँ खेलाडीको उत्पादन, ठाउँ–ठाउँमा खेलमैदान निर्माण, खेलकुद पूर्वाधार विकास, प्रशिक्षक उत्पादन र खेल पर्यटनको विकास गराउने बताए । प्रतियोगिताको माध्यमबाट पालिकालाई जिल्ला, प्रदेश हुँदै देशव्यापी चिनाउने, नयाँ नयाँ खेलाडी उत्पादन तथा पहिचान हुने शिक्षा शाखा प्रमुख तेज कुमालले बताए । प्रतियोगिताले बालबालिकाको सर्वाङ्गीण विकास, समाजमा सकारात्मक ऊर्जा प्रवाह तथा पालिकाको गतिविधीलाई चलायमान, सिङ्गो पालिकालाई एकताबद्ध बनाउन भुमिका खेलेको छ । पालिका स्तरमा उत्कृष्ट भएका खेलाडीहरु जिल्ला स्तरमा, जिल्ला स्तरमा उत्कृष्ट भएकालाई प्रदेश स्तरमा र प्रदेशमा उत्कृष्ट भएकालाई राष्ट्रिय स्तरमा संचालन गरिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता हुनेछ । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता विद्यालयस्तरदेखी राष्ट्रियस्तर सम्म सञ्चालन हुँदै आएको छ । पाल्पाका तानसेन, रिव्दीकोट, माथागढीले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गरिसकेका छन् ।


-1762576335.jpg)