Shittalpati
भिक्टोरी रन पाल्पा २०७६ हुने

पाल्पा, विजय दौड भिक्टोरी रन पाल्पा २०७६ हुने भएको छ । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको प्रर्वद्धन गर्ने उद्देश्यले यही माघ ११ गतेदेखि जिल्लामा दौड प्रतियोगिता आयोजना हुन लागेको हो । जिल्लाका स्थानीय तह र नेपाली सेना गोरख दल गणको संयुक्त आयोजनमा प्रतियोगिता हुन लागेको छ । यही माघ ११ गते भब्य समारोहका बीच प्रतियोगिताको उद्घाटन हुने गणका गणपति सुरज थापाले जानकारी दिए । प्रतियोगिता अन्तर्गत २१ किमी खुल्ला (हाफ म्याराथन) ५ किलो मिटर दौड कक्षा १२ सम्मका छात्र–छात्रा र वाकाथुन ३ किमी इच्छुकको सहभागितामा दौड प्रतियोगिता हुने गणका गणपति थापाले बताए । प्रतियोगिता अन्तर्गत २१ किमी खुल्ला (हाफ म्याराथन) मा प्रथम पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ३० हजार, तेस्रो पुरस्कार १५ हजार र सान्त्वना ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

यसैगरी ५ किमी दौड अन्तर्गत कक्षा १२ सम्मका छात्र–छात्रा बीच हुनेछ । जस अन्तर्गत प्रथम पुरस्कार २० हजार, दोस्रो पुरस्कार १० हजार र तेस्रो पुरस्कार ५ हजार र सान्त्वना पुरस्कार २ हजार रहेको छ । प्रतियोगितामा वाकाथुन ३ किलोमिटिर दौडमा ईच्छुक सहभागी हुन पाउने गणका सेनानी मनोज डंगोलले बताए । प्रतियोगिता अन्तर्गत २१ किमी दौड हाफ म्याराथुनका लागि टुँडिखेल, तानसेन बजार र भैरवस्थान मन्दिरबाट फिर्ता हुंँदै टुँडिखेल रुट प्रयोग हुनेछ । यस्तै ५ किमी दौड अन्तर्गतको प्रयोग हुने रुट टुँडिखेल, तानसेन बजार, श्रीनगरबाट फिर्ता हँुदै टुँडिखेल रहने छ । वाकाथुन ३ किमीको रुट टुँडिखेल, तानसेन बजार हुँदै टुँडिखेलको रुट प्रयोग हुनेछ । प्रतियोगिताका लागि सुरुमा नाम दर्ता गर्ने ३ सय जनालाई आकर्षक टिर्सटको व्यवस्था गरिएको गणले जनाएको छ । प्रतियोगितामा दर्ता शुल्क निःशुल्क रहेको छ । प्रतियोगितमा सहभागिताका लागि नाम दर्ता गर्न तानसेनस्थित गोरखदल गण नागपोखरी ब्यारेक र रामपुर ब्यारेकबाट यही माघ २ गतेबाट सुरु भएको गणले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ ४, २०७६  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update