Shittalpati
वेस्ट इण्डिज ४ रनले पराजित

काठमाडौं, टी–२० मा वेस्ट इण्डिज ४ रनले पराजित भएको छ । वेस्ट इण्डिज भ्रमणमा रहेको आयरल्याण्डले वेस्ट इण्डिजलाई पराजित गरेको हो । विश्व च्याम्पियन वेस्ट इण्डिजमाथि चार रनको रोमाञ्चक जित निकाल्दै आयरल्याण्डले तीन खेलको सिरिजमा एक–शून्यको अग्रता लिएको छ । पउल स्टर्लिङले ४७ बलमा ९५ रन बनाएपछि पहिला ब्याटिङ गरेको आयरल्याण्डले सात विकेटको क्षतिमा दुई सय ८ रन बनाएको थियो । पछिल्ला क्रमका ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न नसके पनि ओपनर स्टर्लिङ र केभिन ओ ब्रइनले पहिलो विकेटका लागि एक सय ५४ रनको साझेदारी गरे । यो साझेदारी आयरल्याण्डका लागि कुनै पनि फर्मम्याटको क्रिकेटमा सर्वाधिक साझेदारी हो ।

स्टर्लिङले ६ चौका र आठ छक्का प्रहार गरेका थिए । उनलाई साथ दिएका ओ ब्रइनले पनि ३२ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै ४८ रनको योगदान दिए । बलिङतर्फ वेस्ट इण्डिजका लागि शेल्डन कोट्रेल, ख्यारी पाइरे र ड्वाइन ब्राभोले दुई–दुई विकेट लिए । दुई सय ९ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले राम्रो प्रदर्शन गरे पनि खेलको अन्तिम ओभरमा नाटकीय ढले पराजित भयो । आयरल्याण्डका जोशुवा लिटिलले दुई विकेट लिएपछि वेस्ट इण्डिज पराजित भएको हो ।

प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update