Shittalpati
पाल्पाको छहरामा आयोजित पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि रामपुरलाई  

पाल्पा, जिल्ला रैनादेवी छहरा गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय चौथो अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि रामपुर नगरपालिकाले जितेको छ । रैनादेवीछहराको कटौजे पानीस्थित खेलमैदान भएको फाईनल खेलमा रम्भा गाउँपालिकालाई ३–२ सेटले हराउँदै रामपुरले  उपाधि हात पारेको हो ।

उपाधि प्राप्त  रामपुरले ७५ हजार नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार पाएको छ । यस्तै प्रतियोगितामा रामपुरसँग पराजित भएसँगै रम्भा गाउँपालिका दोस्रो भएको छ । उसले ४५ हजार नगदसहित सिल्ड, ट्रफी र प्रमाणपत्र  पुरस्कार पाएको छ । प्रतियोगितामा पूूर्वखोला गाउँपालिका तेस्रो भएको छ ।  उसले ३० हजार नगदसहित सिल्ड, ट्रफी र प्रमाणपत्र हात पारेको छ । पूूर्वखोलाले रैनादेवी छहरा गाउँपालिकालाई ३–१ सेटले हराएको थियो । प्रतियोगितामा सान्तवना भएको रैनादेवी छहरा गाउँपालिकाले  १५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र पाएको रैनादेवी छहरा युवा तथा खेलकुद समितिका  सदस्य सचिव जीवन रानाले बताए । प्रतियोगितामा खेल अवधिभर उत्कृष्ट स्पाइकर रम्भा गाउँपालिकाका यम आले, उत्कृष्ट सेटर रामपुर नगरपालिकाका अमृत गाहा, उत्कृष्ट डिफेन्डर रम्भा गाउँपालिकाका तुल्सा बाकाबल, उत्कृष्ट ब्लकर रामपुर नगरपालिकाका  दिपेन्द्र आले, उत्कृष्ट खेलाडी रामपुर नगरपालिकाकै सन्दीप थापा  र उत्कृष्ट कोचमा रम्भाका चिरन फालले पुरस्कार हात पारेको  रैनादेवी छहरा खेलकुद विकास समितिका अध्यक्ष नारायण कार्कीले बताए ।

विजयी तथा उपविजयी खेलाडीलाई लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगर, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराई, उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सेना, प्रवक्ता देवेन्द्र पुन लगायतले  पुरस्कार वितरण गरेका थिए ।  पुरस्कार वितरण गर्दै  सभामुख घर्तिले  पाल्पामा भलिबलको क्रेज बढ्दै गएको अवस्थामा रैनादेवी छहरा गाउँपालिकाले अन्तरपालिका स्तरीय प्रतियोगिता गरी खेलाडीहरुमा निखारता ल्याउने र भोलीको दिनमा खेलाडीहरुलाई क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगितामा सहभागी हुन आत्मबल बढ्ने विश्वास व्यक्त गरे । विगतका बर्षहरुमा गाउँपालिकाले आफ्नै पालिका भित्र मात्र सिमित गरेको अध्यक्ष कप भलिवल प्रतियोगिता यस बर्षदेखी खेलाडीहरुलाई प्रतिष्प्रर्धाको भावना बढाउन, नयाँ–नयाँ खेलाडीहरु उत्पादन गर्न अन्तरपालिका स्तरीय बनाएको गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले बताए । गाउँपालिकाले कटौजेपानीलाई पालिकास्तरीय रंगाशालाको विकास गर्दै आएको छ ।  प्रतियोगितामा पाल्पाका १० वटै पालिकाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update