Shittalpati
रैनादेवीमा अध्यक्षकप पुरुष भलिवल : पहिलो दिनको खेलमा रैनादेवी र बगनासकाली विजयी 

पाल्पा ,पाल्पाको रैनादेबी छहरा गाउँपालिकाको आयोजना तथा  युवा तथा खेलकुद विकास समितिको समन्वयमा चौथो अध्यक्षकप अन्तरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । पालिकाको खेलमैदान कटौजेपानीमा  सोमबारदेखि शुरु भएको हो । 
चैत्र ७ गते सम्म चल्ने प्रतियोगिताको लुम्विनी प्रदेश सांसद वीर बहादुर रानाले शुभारम्भ गरेका हुन् । प्रतियोगिताको शुभारम्भ गर्दै प्रदेश सांसद रानाले राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारा अब पालिकाको पहिचानको रुपमा खेलकुदमा जोडिन पुगेको बताए । अन्तरपालिका स्तरको खेलकुद भनेको जिल्ला स्तर सरहको खेलकुद प्रतियोगिता भएकाले रैनादेवी छहरा गाउँपालिकाले राम्रो कामको शुरुवात गरेको  प्रदेश सांसद रानाले बताए । अबका दिनका अन्य पालिकाहरुले पनि विभिन्न खेलकुदमा अन्तरपालिका स्तरका प्रतियोगिता सञ्चालन गरी जिल्लामा खेलकुद गतिविधिलाई अगाडि बढाउनु पर्नेमा सांसद रानाले जोड दिए । खेलकुदको माध्यमबाट गाउँलाई हराभरा बनाउन सकिने, बसाई सराई रोकिने, गाउँ गाउँबाट नयाँ नयाँ खेलाडीहरु उत्पादन भई पालिकाकै नाम अगाडि बढाउने भएकाले यस्ता खेलकुद गतिविधी पालिकाहरुले नियमित रुपमा गरिरहनु पर्नेमा सांसद रानाले बताए । 

कार्यक्रममा रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले खेलकुदको माध्यमबाट अन्तरपालिका स्तरमा सम्बन्ध विस्तार हुने, खेलाडीहरुको क्षमता बृद्धि हुने, राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन हुने भएकोले रैनादेवी छहराले राम्रो प्रतियोगिता सञ्ंचालन गरेको बताए । प्रतियोगिता शुभारम्भ कार्यक्रममा रैनादेवी छहरा गाउँपालिकाका निवर्तमान अध्यक्ष राम बहादुर कार्कीले आफ्नो पालामा शुरु भएको अध्यक्ष कप भलिवल प्रतियोगिताले निरन्तरता पाएको भएपनि पालिकाको मुख्य खेलमैदानको निर्माण कार्य अझै अधुरो  र व्यवस्थित नभएकोमा चिन्ता व्यक्त गरे ।  कार्यक्रममा सम्पुर्ण राजनितिक दलहरुको तर्फबाट नेकपा एमाले रैनादेवी छहरा गाउँपालिका प्रतिनिधी झविन्द्र रायमाझी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरे, रापपुर नगरपालिकाका प्रवक्ता कपिल खाण लगायतले रैनादेवी छहरा गाउँपालिकाले शुरु गरेको पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिताले जिल्लाभरीका भलिवल खेलाडीहरुमा उत्साह जगाएको बताए ।  

कार्यक्रममा पालिका उपाध्यक्ष युवराज थापाले खेलकुद गतिविधीबाट रैनादेवी छहराको पहिचान बढाउन, अन्तरपालिका विच सम्वन्ध बढाउन, अन्तरपालिका विचका खेलाडीहरु प्रतिष्प्रर्धा बढाउन, जिल्लाबाट राष्ट्रिय स्तरका भलिवल खेलाडीहरु उत्पादन गर्नका लागि प्रतियोगिता आयोजना गरिएको बताए । गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले रैनादेवी छहरालाई खेलकुदको रुपमा परिचित बनाउन,  खेलकुद पर्यटन बढाई ग्रामिण क्षेत्रसम्म चहल पहल बढाउन, पालिका भित्रका खेलाडीहरुलाई पालिका भित्र सिमित नराखी जिल्ला स्तरीय हुँदै राष्ट्रिय खेलाडी बनाउन प्रतियोगिता आयोजना गरिएको बताए  । पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सीनाले खेलकुद गतिविधीलाई बढाउन पालिकाले बजेटको अवस्था अनुसार बन्द प्रशिक्षण तथा न्युनतम खेलाडीहरुलाई भत्ताको व्यबस्थाको विषयमा  पालिकामा छलफल भईरहेको बताए ।   

पहिलो दिनको खेलमा  रैनादेवी र बगनासकाली विजयी 

पुरुष भलिवल प्रतियोगिताको  उद्घाटन खेलमा आयोजक टिम रैनादेवी छहरा गाउँपालिकाले तिनाउ गाउँपालिकालाई पराजित गरेको छ ।  रैनादेवी छहरा गाउँपालिकाले एक अंक का विरुद्ध दुई अंक ल्याई विजयी भएको हो । दोस्रो खेलमा बगनासकाली गाउँपालिकाले तानसेन नगरपालिकालाई २ शुन्यले पराजित गरी विजयी भएको युवा तथा खेलकुद विकास समितीका सदस्य सचिव जीवन रानाले बताए । चैत्र ६ गते मंगलबारकको खेल रिव्दीकोट र माथागढी, पुर्वखोला र निस्दी, रम्भा र बगनासकाली, रामपुर र माथागढी, रम्भा र तानसेन, रामपुर र रिव्दीकोट बिच हुने  युवा तथा खेलकुद विकास समितिका संयोजक नारायण बहादुर कार्कीले  बताए । 

प्रतियोगितामा प्रथम हुनेले ७५ हजार,द्वितीयले ४५ हजार,तृतीयले ३० हजार र सान्त्वना हुनेले १५ हजार नगद, मेडल, ट्रफी, प्रमाण सहित पुरस्कार पाउने छ । प्रतियोगितामा पाल्पाका १० वटै पालिकाबाट खेलाडीहरुको सहभागिता रहेको छ । 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update