Shittalpati
गुल्मीमा चैत ९ देखि खुला ब्याडमिन्टन हुँदै

गुल्मी, गुल्मीमा चैत ९ देखि खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला ब्याडमिण्टन संघ गुल्मीले सदरमुकाम तम्घासमा चैत ९ देखि ११ गतेसम्म राष्ट्रियस्तरको प्रतियोगिता गर्न लागेको हो ।

संघका अध्यक्ष नवराज श्रेष्ठले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिता आयोजना गर्न लागिएको जनाएका छन् । पर्यटन प्रवद्र्धनका लागि रेसुंगा नगरपालिकाले सञ्चालन गरेको “जाउँ हिड रेसुंगा” भन्ने अभियानलाई सफल बनाउन सहयोग गर्ने उद्देश्यका साथ जिल्लामा पहिलो पटक खुल्ला प्रथम राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता सञ्चालन गर्न लागिएको उनले बताए । अध्यक्ष श्रेष्ठका अनुसार प्रतियोगिताअन्तर्गत खुल्ला पुरुष डबल, भेट्रान्स, खुला पुरुष एकल, खुला महिला डबल्सलगायत सात विधाका खेल हुने छन् । खुला पुरुष डबल्सतर्फ पहिलो हुनेले  ६० हजार, दास्रो हुनेले ४० हजार र तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्ने छन् ।

यस्तै भेट्रान्सतर्फ पहिलो हुनेलाई  ४० हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई  १५ हजार पुरस्कार प्रदान गरिने छ । खुला पुरुष एकलतर्फको पहिलो हुने खेलाडीलाई ३५ हजार, दोस्रो हुनेलाई २५ हजार तथा तेस्रो हुनेलाई  १५ हजार पुरस्कार प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । यसैगरी खुला महिला डबल्सतर्फको विजेताले  ३५ हजार, दोस्रो हुनेले  २० हजार र तेस्रो हुनेले १५ हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा खुला पुरुष डबल्स र खुला पुरुष एकलतर्फ राष्ट्रिय बरियताका २० भन्दा तलका खेलाडी मात्र सहभागी हुन पाउने आयोजकले जनाएको छ । 

प्रतियोगिताको प्रवद्र्धकका रूपमा राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेश र जिल्ला खेलकुद विकास समिति गुल्मी रहेका छन् । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका लागि करिब २१ लाख ६० हजार खर्च हुने आयोजकले अनुमान गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update