Shittalpati
त्रिकोणात्मक शृङ्खलाको फाइनलमा नेपाल र पपुवा न्यूगिनी

काठमाडौँ, त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाअन्तर्गत आज भएको दोस्रो खेलमा पपुवा न्यूगिनीले हङकङलाई पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । आजै भएको पहिलो खेलमा पपुवा न्यूगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको थियो ।

    हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदान भएको दोस्रो खेलमा पपुवा न्यूगिनीले घरेलु टोली हङकङलाई १० विकेटले पराजित गर्‍यो । जितसँगै पपुवा न्यूगिनीले दुई खेलमा दुई अङ्क जोड्यो । हङकङ समान खेलबाट एक अङ्कका साथ फाइनल पुग्नबाट बञ्चित भयो । साथै दुई खेल खेलेको नेपालले तीन अङ्क बनाएको छ । यसअघि भएको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो । फाइनल खेल भोलि हुनेछ । 

    हङकङले जितका लागि दिएको एक सय २२ रनको लक्ष्य पपुवा न्यूगिनीले १२ दशमलव चार ओभरमा कुनै विकेट नै नगुमाइ पूरा गर्‍यो । पपुवा न्यूगिनीका लागि सेसे बाउले ४३ बलमा चौका छ चौका र एक छक्काको मद्दतमा अविजित ६१ रनको योगदान दिए । त्यसैगरी टोनी उराले ३३ बलमा पाँच चौका र दुई छक्काको मद्दतले अविजित ५१ रन बनाए ।

    टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले १८ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय २१ रनको योगफल बनाएको थियो । हङकङका लागि जिसन अलीले २९ बलमा छ चौका र एक छक्काको मद्दतले ५५ रन बनाए । नस्रुला राना र एहसान खानले समान १६/१६ रन जोडे भने बाबर हायतले १२ रन बनाए । पपुवा न्यूगिनीका लागि काबुआ मोरिया, अली नाओ, कप्तान असाद भाला र सेसे बाउले समान दुई/दुई विकेट लिए ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update