Shittalpati
पाल्पामा पहिलो पटक दृष्टिविहिनको कवड्डी प्रतियोगिता 

पाल्पा, विश्वमा कतै पनि नखेलिएको दृष्टिविहिनहरुकाबिच कबड्डी प्रतियोगिता पाल्पामा पहिलो पटक  सञ्चालन गरिएको छ ।  दमकडा नमुना माध्यमिक विद्यालय  तानसेन ९ दमकडामा दृष्टिविहिनहरुबिच पहिलो पटक कबड्डी प्रतियोगिता सञ्चालन गरिएको हो ।  
कबड्डी प्रतियोगिता खेल्दा विद्यार्थीहरु निकै उत्साहित देखिन्थे । प्रतियोगितामा निलो जर्सी समुहबाट खेलेका विवश कुमालले साथीहरुबिच पहिलो पटक कबड्डी खेल खेल्दा निकै आनन्द आएको र आगामी दिनमा दृष्टिविहिनहरुले प्रतियोगितात्मक खेल खेल्न सकिने बताए । विद्यालयमा अध्यनरत विद्यार्थीहरु विश्वमै पहिलो पटक कबड्डी प्रतियोगिता खेलेर खुसी देखिएका छन् । आगामी दिनमा आफुहरु राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा कबड्डी प्रतियोगिता खेल्न सकिने हौसल्ला बढेको दिृष्टिविहिन विद्यार्थीहरुले बताएका छन् । खेलमा सहभागी रातो जर्सीका टिम लिडर जगतबहादुर कुवँरले दृष्टिविहिनको कबड्डी प्रतियोगितालाई राष्ट्रियकरण गर्न सरकारसँग अनुरोध गरेका छन् । पाठ्यक्रममा कबड्डी खेल सबैले खेल्न पाउने भए पनि हालसम्म दृष्टिविहिनहरु भने खेल्ने अवसर पाएका थिएनन् ।

त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक वाई वि आचार्यले पिएच डीको लागि अनुसन्धानको क्रममा दृष्टिविहिनहरु पनि कबड्डी खेल्न सक्छन् भन्ने आधारमा सैद्धान्तिक र व्यवहारिक छलफल तथा अभ्यास, प्रतियोगिता सञ्चालन गरिएको हो । विभिन्न तयारीका साथ गरिएको पहिलो प्रतियोगिताबाट दृष्टिविहिनहरुको कबड्डी प्रतियोगितालाई ओलम्पिक, एसियन गेम तथा अन्य प्रतियोगितामा पनि समावेश गर्न सकिने आधार मिलेको छ । दृष्टिविहिनहरुको कबड्डी खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्नको लागि  लिपिवद्ध रुपमा नियम बनाएर, डिजाइन गरेर सार्वजनिक गर्ने अनुसन्धानकर्ता आचार्यले जानकारी दिए । 

दृष्टिविहिन विद्यार्थीहरुको तिव्र इच्छा र चाहानासँगै विद्यालयले गरेको अथक मिहेनतको कारण शारिरिक अभ्यास गराएर सैद्धान्तिक ज्ञान सिकाएर विद्यालयले कबड्डी खेलको नयाँ प्रयोगमा ल्याएको विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद सापकोटाले बताए । 
कबड्डी खेलका लुम्बिनी प्रदेशका दुई जना रेफ्री विद्यालयमा शिक्षकको रुपमा कार्यरत रहेका छन् । विद्यालयका शिक्षक धनपती गैरे र माधव खनाल कबड्डी खेलका प्रदेशस्तरीय रेफ्री हुन् । दुष्टिविहिन बालबालिकाहरुलाई कबड्डी खेलाउन प्राविधिक रुपमा केही नियमहरु परिवर्तन गरेर वक लाईन, वोनस लाईन, आउट लाईन, अन्डर लाईन  खेलाडीले लाईन छोएर थाहा पाउने गरी नरम पाइपमा कागज काटेर डण्डी बनाई टेप टासेर रेखा बनाएको, रेडरले कबड्डी भन्दै गएपनि डेफेन्डरहरु थाहा पाउन हात खुट्टामा छाई छाई बज्ने गुगुरा लगाएर प्रतियोगिता गराएको रेफ्री धनपती गैरेले बताए  । दृष्टिविहिनहरुलाई कबड्डी खेलाउदा निकै आनन्द तथा नयाँ अनुभव भएको रेफ्री गैरेले बताए । यसमा पनि विज्ञहरुको सरसल्लाहमा केही नियमहरु परिवर्तन गरी करिकुलम  निर्माण गरेर दृष्टिविहिन कबड्डी  प्रतियोगिता चलाउन सकिने रेफ्री गैरेले बताए । 

बालबालिकाहरुले कार्ड बोर्डमा कबड्डी मैदानको चित्र बनाएर सेन्टर, वक, वोनस, आउट, इन, र साईड लाइनको बारेमा आफै सक्रिय भएर सिकेका लुम्विनी प्रदेशका कबड्डी रेफ्री एव विद्यालयका शिक्षक माधव खनालले बताए ।
प्रतियोगितामा विवश कुमालको निलो जर्सी र जगतबहादुर कुँवरको रातो जर्सीको नेतृत्वमा भएको खेलमा जगतबहादुर कुँवरको रातो जर्सीको समूह विजयी भएको छ । यस्तैगरी विवश कुमालको निलो जर्सीको समूह उपविजेता भएको छ । विजयी निलो जर्सीले २४ अंक र उपविजेता रातो जर्सीले २० अंक पाएको थियो ।  विश्वमा  हाल सम्म कहि कतै नखेलाएको दृष्टिविहिनहरुको कबड्डी प्रतियोगिताको विद्यालयले आयोजना गरी दृष्टिविहिनहरु पनि कबड्डी खेल्न सक्छन् भन्ने उदाहरणीय काम गरेको विद्यालय व्यबस्थापन समिपतका अध्यक्ष राजेश कुमार अर्यालले बताए । 

दमकडा माध्यमिक  विद्यालयमा विस २०५२ साल देखी आवासीय रुपमा दृष्टिविहिनहरुको अध्ययन अध्यापन हुँदै आएको छ ।  दमकडा माविले सञ्चालन गरेको दृष्टिविहिनहरुको कबड्डी प्रतियोगिताले आगामी दिनमा राष्ट्रिय अन्तर्राष्ट्रि रुपमा  प्रतियोगिता गर्ने आधार जुटेको छ ।  नेपाल सरकारलाई दृष्टिविहिनहरुको कबड्डी प्रतियोगिताको लागि राष्ट्रिय रुपमै पाठ्क्रम निर्माण गरेर जानुपर्ने दवाब सिर्जना गरेको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update