Shittalpati
पाल्पाको रामपुरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदै

भरत शर्मा

पाल्पा, पाल्पाको रामपुरमा पहिलो पटक राष्ट्रियस्तरको महिला भलिबल खेल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिबल संघ पाल्पाको आयोजना  र जिल्ला खेलकूद विकास समितिको समन्वयमा प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोता हुने भएको हो ।

संघले रामपुरमा पत्रकार सम्मेलन गरी यही फागुन १८ देखि २४ गतेसम्म प्रतियोगिता गर्न लागेको जनाएको छ ।  प्रतियोगितामा विभागीय टिमहरु नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र सातै प्रदेशका खेलाडीहरुको सहभागीता रहने छ । प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रायोजक तथा प्रवर्धक  रहेको प्रतियोगितामा प्रथम पुरस्कार नगद दुई लाख ५० हजार, द्वितिय पुरस्कार नगद एक लाख ५० हजार, तृतीय पुरस्कार नगद ७५ हजार, सान्त्वना पुरस्कार ३५ हजार साथमा विधागत पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र रहने संघले जनाएको छ ।

 पर्यटकीय, व्यवसायिक, आर्थिक रुपमा रामपुर सवल र सक्षम भएकाले पनि राष्ट्रियस्तरको खेलका लागि रामपुर क्षेत्र छनौट गरिएको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले बताए । पत्रकार सम्मेलनमा  सदस्य सचिव भट्टराईले देशैभरका ३ सय खेलाडीको प्रतियोगितामा सहभागीता रहने जानकारी दिए ।

प्रतियोगिताका लागि ८४ लाख बराबरको खर्च लाग्ने अनुमान गरिएको जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा अशक्त, महिला, जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्ति, सञ्चारकर्मीलाई सहज रुपमा अवलोकनको व्यवस्था गराइने छ । खेलाडीमाफत आन्तरिक पर्यटक भित्र्याउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले  विश्वास व्यक्त गरे ।

यस अघि लुम्बिनीमा १९ औँ राष्ट्रिय महिला भलिबल खेल भएता पनि संघीयता पश्चात पहिलो पटक पाल्पाको रामपुरमा खेल हुनु जिल्लावासीका लागि गौरवपूर्ण रहेको भलिबल संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष योग गुरुङले बताए । खेल रामपुर नगरपालिका–५ स्थित रामतुलसी नमुना माविको खेलमैदानमा हुने छ । पत्रकार सम्मेलन संघका जिल्ला अध्यक्ष राजुु गुुरुङ्गको अध्यक्षता, जिल्ला खेलकूूद विकास समितिका सदस्य दुुर्गेश मल्लको सञ्चालनमा भएको थियो ।  

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update