Shittalpati
नेदरल्याण्ड्स विरुद्ध नेपालको शानदार जित

काठमाडौं, आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हात पारेको छ ।

शनिबार नेदरल्याण्डसले दिएको १ सय ३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट भयो । नेदरल्याण्ड्सलाई अल आउट गर्ने क्रममा कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहितकुमार पौडेलको नाममा समान १ विकेट रह्यो । नेदरल्याण्ड्सका २ जना रन आउट भए । बिहान ब्याटिङ गर्न कठिन मानिने त्रिविको विकेटमा टस जितेर फिल्डिङ गर्ने कप्तान रोहितकुमार पौडेलले निर्णयलाई सही सावित गर्दै ओपनर बलर सोमपाल कामीले तेस्रो बलमा नै विकेट लिएका थिए । खाता नै नखोली माइकल लेभिटलाई गुमाएपछि नेदरल्याण्ड्सले नेपाली बलर सामु खुलेर खेल्न पाएन ।

अर्का ओपनर म्याक्स ओडाउड व्यक्तिगत १० रनमा रनआउट भए । स्याब्रान्ड एंगेलब्रेक्टले इनिङ सम्हाल्ने प्रयास गरे पनि उनी व्यक्तिगत २३ रनमा ललित राजवंशीको बलमा अनिल साहबाट क्याच आउट भए । उनले तेस्रो विकेटका लागि बास डि लिडेसँग ३८ रनको साझेदारी गरेका थिए । लिडे २७ रन बनाउँदै ललितकै बलमा बोल्ड भए । त्यसपछि कप्तान स्कट एडवाड्र्सले ३३ रन बनाए । उनी कुशल भुर्तेलको एलबीडब्लू धरापमा परे । नवौं विकेटका रुपमा उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर बोर्डमा १२७ रन थियो । थप १० रन जोड्दा भिभियन किंग्माको विकेट लिँदै भुर्तेलले नेदरल्याण्ड्सलाई अल आउट गरे । यसअघि कीर्तिपुर मैदानमा भएको लिग टु को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update