Shittalpati
मैत्रीपूर्ण क्रिकेट : जेसिज पाल्पाद्वारा बैंकर्स संघ पराजित

पाल्पा, जेसिज पाल्पाले मैत्रीपूर्ण क्रिकेट खेलमा बैंकर्स संघ पाल्पालाई ९ विकेटले पराजित गरेको छ । जिल्लाको बगनासकाली गाउँपालिका–१ चिलाङ्दी खेल मैदानामा भएको खेलमा बैंकर्स संघले दिएको ९० रनको लक्ष्य पछ्याएको जेसिजले १४.४ ओभरमा ९१ रन बनाउँदै जित निकालेको हो ।

जेसिजका तेजेन्द्र राणाले सर्वाधिक २४ रन, अच्छुत खनालले २३ र अध्यक्ष अर्जुन कार्की १० रन बनाउँदै जित सुुनिश्चित गरेका थिए । यसअघि पहिले ब्याटिङ गरेको बैंकर्सले १५ ओभरमा ९ विकेट गुमाउँदै ९० रन बनाएको थियो । बैंकर्सका महेश खनालले १७, धुर्वतारा बस्यालले १२, प्रकाश कार्कीले ११ रन बनाए पनि जित निकाल्न सकेनन् ।

खेलको उद्घाटन गर्दै बगनासकाली गाउँपालिका–१ का वडा अध्यक्ष शेरबहादुर गाहाले जेसिसले सामाजिक कार्यसँगै खेल क्षेत्रको विकासमा समेत देखाएको चासो प्रशंसनिय रहेको बताए । उनले यस्ता खेल प्रतियोगिताहरु आगामी दिनहरुमा पनि सञ्चालन गर्न जेसिजलाई आग्रह गरे । जेसिजका अध्यक्ष अर्जुन कार्कीले साथीहरुको आत्मियतालाई अझ प्रगाढ बनाउन र जिल्लाको खेल क्षेत्रलाई चलायमान बनाउन खेल आयोजना गरिएको बताए । खेल निकै उत्साहजनक रुपमा सञ्चालन भएको जेसिजका महासचिव विजय कार्कीले जानकारी दिए ।  

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update