Shittalpati
रामपुरमा छैठौँ मेयर कप २०८० को उपाधी वडा ४ लाई

पाल्पा, रामपुरमा भएको छैठौँ मेयरकप २०८० को रनिङ्ग शिल्ड उपाधी वडा ४ ले हात पारेको छ । मेयर कप अन्तर्गत भएका विविध प्रतियोगिताबाट ९ अंक प्राप्त गर्दै वडा ४ ले रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जितेको हो । वडा ४ ले फुटबल प्रतियोगितामा द्वितीय, ब्याडमिन्टन तर्फ प्रथम र द्वितीय स्थान, महिला भलिबल तर्फ द्वितीय स्थान हासिल गर्दै ९ अंक प्राप्त गरी रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी जिन्त सफल भएको हो ।

यससंगै वडा ४ ले मेयर कप २०८० को रनिङ्ग शिल्ड प्राप्त गरेको छ । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको सञ्चालनमा गत शुक्रबार देखि भएको मेयर कप सोमबार समापन भएको हो । मयेर कप अन्तर्गत फुटबल, पुरुष तथा महिला भलिबल, क्रिकेट, व्याडमिन्टन र मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता भएको थियो । फुटबल प्रतियोगिताको उपाधि वडा ७ ले जितेको छ । रामपुर ७ किसानबारी खेल मैदानमा भएको फाईनल खेलमा वडा ४ लाई २–० गोलले पराजित गर्दै वडा ७ ले उपाधि हात पारेको हो । वडा ७ ले पहिलो र दोस्रो हाफमा १/१ गोल गर्दै वडा ७ ले उपाधी जित्न सफल भएको हो । यससंगै वडा ४ ले उपविजेतामा भएको छ । तृतीय स्थानका लागि भएको खेलमा वडा ९ ले वडा १० लाई २/१ गोलले वडा १० लाई पराजित गरेको थियो । फुटबल प्रतियोगितामा प्रथम हुने वडा ७ ले फुटबलको रनिङ्ग शिल्ड कप, कप मेडल र प्रमाण पत्र सहित नगद ५५ हजार रुपैयाँ प्राप्त गरेको छ भने द्वितीय र तृतीय हुने समुहले नगद ३५ हजार २१ हजार कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

यस्तै पुरुष भलिबल प्रतियोगिताको उपाधी वडा १० ले जित्न सफल भएको छ । दुर्गा मन्दिर टोल विजयपुरमा भएको फाईनल खेलमा ३–२ सेटले वडा १ लाई पराजित गर्दै वडा १० प्रथम भएको छ । फाईनलमा पराजित भएसँगै वडा १ द्वितीय स्थानमा सिमित भएको छ । वडा १ ले वडा ३ लाई र वडा १० ले वडा २ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिता अन्तर्गत वडा २ र वडा ३ विच तृतीय स्थानका लागि प्रतिस्पर्धा भएको थियो । खेलमा वडा २ लाई पराजित गर्दै वडा ३ तृतीय भएको छ । यससंगै प्रतियोगितामा प्रथम हुने वडा १० ले भलिबल तर्फको रनिङ्ग शिल्ड, कप, मेडल र प्रमाण पत्र सहित ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने द्वितीय र तृतीय हुने समूहले क्रमशः ३१ हजार र २१ हजार रुपैयाँ सहित रनिङ शिल्ड, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।  

यस्तै महिला भलिबल तर्फ प्रथम वडा ६, द्वितीय वडा ४ र तृतीय वडा १ भएको छ । प्रतियोगिता अन्तर्गत प्रथम हुने वडा नं. ६ ले भलिबलको रनिङ्ग शिल्ड, कप, मेडल र प्रमाण पत्र सहित नगद ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै द्वितीय र तृतीय हुने समुहले क्रमशः २५ हजार र १५ हजार रुपैँया पुरस्कार सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । मेयर कप २०८० अन्तर्गतको क्रिकेट प्रतियोगिताको उपाधि वडा ८ ले जितेको छ । वडा ५ लाई पराजित गर्दै वडा  विजेता बनेको हो । वडा ५ ले उपविजेता बनेको छ भने वडा ३ तृतीय भएको छ । प्रतियोगितामा प्रथम हुने वडा ८ ले क्रिकेट प्रतियोगिताको रनिङ्ग शिल्ड, कप, मेडल र प्रमाण पत्र सहित नगद ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने द्वितीय र तृतीय हुने समुहले क्रमशः नगद २५ हजार र १५ हजार रुपैयाँ सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । 

यसैगरी व्याडमिन्टन प्रतियोगितामा प्रथम वडा ४ को बसन्त श्रेष्ठ र समिर रानाको बि समुह, वडा ४ कै दानबहादुर राना र सन्तोष सारुको ए समूह द्वितीय र वडा ६ को टुकबहादुर राना र युवराज कुमालको समुह तृतीय भएको छ । विजयी समूहले क्रमश नगद १० हजार, ५ हजार र २ हजार रुपैयाँ सहित मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ । मेयर कप अन्तर्गत मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम भूपू सैनिक राईजिङ ईङ्गिलस बोर्डिङ स्कुलका मनिषा श्रेष्ठ प्रथम, रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुरका विविसा घिमिरे द्वितीय र आधारभूत माध्यमिक विद्यालयका अब्दुल खालिद तृतिय भएका छन् । यसैबिच मेयर कप अन्तर्गत रामपुर नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । कार्यक्रम समापनका अवसरमा भएको मैत्रीपूर्ण फुटबलमा कर्मचारीको समूह विजयी भएको छ । दुई समुह विच भएको मैत्रीपूर्ण खेलमा २–० गोल अन्तरले कर्मचारीको समुह विजयी भएको हो । यस्तै रामपुर नगरपालिकाका जनप्रतिनिधि र महिला कर्मचारी विच भएको डोरी तान्ने प्रतियोगितामा महिला कर्मचारीको समूह विजयी भएको छ ।

   कार्यक्रम समापन तथा पुरस्कार वितरण कार्यक्रमका अवसरमा रामपुर नगरपालिका वडा ६ बस्ने अण्डर नाईन्टिन राष्ट्रिय महिला भलिबल प्रतियोगिताका खेलाडी अस्मिता घर्ती मगरलाई उपचारार्थ सहयोग गरेको छ । नगरपालिकाले खेलका क्रममा घाइते भएका अस्मिताको उपचारका लागि नगद ५० हजार रुपैयाँ प्रदान गरेको छ । 
   
 खेलका समापन कार्यक्रमका अवसरमा विभिन्न प्रतियोगतामा विजयी समूलाई पुरस्कार प्रदान गरेको छ । पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले खेलले मानिसको स्वस्थ जिवन मात्र नभई राष्ट्र र समाजको पहिचानको लागि नि महत्वपूर्ण रहेको बताए । कार्यक्रममा नेपाली काँग्रेस रामपुर नगर समितिका सभापति नेत्रप्रसाद भट्टराई, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य कमलराज भट्टराई, कालीगण्डकी आँखा उपचार केन्द्रका अध्यक्ष भिमविश्व भट्टराईले आफ्नो भनाई राखेका थिए । नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनको अध्यक्षता र नगर प्रमुख रमणबहादुर थापाको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको थियो । समापनको अवसरमा विधागत रुपमा उत्कृष्ट खेलाडी र विभिन्न व्यक्ति र संस्थाहरुलाई सम्मान प्रदान गरिएको थियो । रामपुर नगरपालिकाका प्रवक्ता कपिलबहादुर खाँणको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन नगर खेलकुद विकास समितिका सचिव जमुना रानाले गरेकी थिइन् ।
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update