Shittalpati
रैनादेवी छहरामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड सुरु

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा भएको प्रतियोगिता कटौजेपानी खेलमैदानमा सुरु भएको हो । प्रतियोगिताको  प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले उद्घाटन गरेका हुन् ।  

प्रतियोगिताको उद्घाटन  गर्दै अध्यक्ष भट्टराईले यस्ता प्रतियोगिताको माध्यमबाट गाउँ–गाउँमा अवसर नपाएर बसेका क्षमता र प्रतिभावान खेलाडी बाहिर आउने बताए । गाउँपालिकाले विद्यालयस्तरदेखि पालिका स्तरमा हुने विभिन्न किसिमका खेलकुद प्रतियोगितालाई प्राथमिकता दिदै आएको अध्यक्ष भट्टराईले बताए । गाउँपालिका भलिबल लगायतका विभिन्न खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्दै आएको अध्यक्ष भट्टराईको भनाई छ । वडा वडामा खेलकुद गतिविधी बढाउन खेलमैदान निर्माणमा पालिकाले बजेट विनियोजन गर्दै आएको उनले बताए । 

 गाउँपालिकाभित्र विभिन्न प्रकार खेलकुद गतिविधी बढाउन, वडा वडामा रहेका खेलमैदानहरुको स्तरउन्नती गर्ने, विद्यालय भित्र र बाहिर विभिन्न प्रकार प्रतियोगिता गर्न योजनावद्ध रुपमा लागेको पालिकाका युवा तथा खेलकुद विकास समितिका संयोजक नारायण कार्कीले बताए । माघ १० गते बुधबारसम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, सट पुट लगायतका १३ विधामा विद्यालयका विद्यार्थीहरुले प्रतिष्प्रर्धा गर्ने  प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले बताए ।  पालिकाभरीका १२ वटा माध्यमिक विद्यालय र ३ वटा आधारभुत विद्यालय गरी १५ विद्यालयका ३ सय जना विद्यार्थी खेलाडीहरुले प्रतियोगितामा भाग लिएको प्रतियोगिताका संयोजक राजाराम भाटले बताए । प्रतियोगितामा ६० स्वर्ण, ६० रजत र ६० कास्य पदकहरु राखिएका छन् । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुले रैनादेवी छहरा गाउँपालिकाको प्रतिनिधितत्व गर्दै जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने छन् ।   

 प्रतियोगिताको शुभारम्भ कार्यक्रममा उपाध्यक्ष युवराज थापा, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँसभा सदस्यहरू, शिक्षा समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, गाउँपालिकाको कार्यालयका शाखा प्रमुखहरू तथा विद्यालयका प्रधानाध्यापकहरूले खेलाडीहरुलाई हौसल्ला बढाउदै उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा दिएका थिए । युवा तथा खेलकुद विकास समितिका संयोजक नारायण कार्कीको अध्यक्षता, खेल संयोजक राजाराम भाटको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update