Shittalpati
एनसीसी कपको उपाधि तानसेनको एमआइबीलाई

पाल्पा,नारायणडाँडा क्रिकेट क्लव तानसेन–१ ले आयोजना गरेको नारायणडाँडा क्रिकेट  कप (एनसीसी) २०८० को उपाधि एमआइबी तानसेनले जितेको छ । आइतबार भएको फाइनल खेलमा आयोजक टिम नारायणडाँडा क्रिकेट क्लव (एनसीसी) लाई ७ विकेटले पराजित गर्दै  एमआइबीले प्रतियोगिताको उपाधि हात पारेको हो ।

पाल्पाको बगनासकाली गाउँपालिका –१ चिलाङ्दी खेलमैदानमा टस जित्दै एमआइबी विरुद्ध पहिले ब्याटिङ गरेको (एनसीसी) ले १५ ओभरमा सबै विकेट गुमाउँदै ७३ रन बनाएको थियो । एनसीसीले दिएको ७४ रनको लक्ष्य पछ्याएको एमआइबीले निर्धारित ९ ओभरमा ३ विकेट गुमाउँदै ७४ रन बनाएर जित सुनिश्चित गरेको हो । एनसीसीका विक्रम घिमिरेले सर्वाधिक २३ रनको योगदान दिए ।  उनले १५ बलमा सो रन बनाए । बलिङतर्फ एमआइबीका प्रकाश बरालले ४, विश्वास श्रेष्ठले ३, हिल्सन पाण्डे क्षत्री, सागर लामिछाने र आशिष थारुले समान एक/एक विकेट लिए ।  

एमआइबीका तर्फबाट हिल्सन पाण्डे क्षत्रीले २४ बलमा ४३ रन जोडेर विजयको यात्रा तय गरेका हुन् । उनलाई निरज भण्डारीले १३ रन बनाई साथ दिए । बलिङतर्फ एनसीसीका शिव बस्यालले २ र विक्रम घिमिरेले १ विकेट लिए । खेलमा एमआइबीका हिल्सन पाण्डे क्षत्री प्रतियोगिताको म्यान अफ द म्याच भए । एनसीसी कपका उत्कृष्ट बलर आयोजक टिमका विक्रम घिमिरे, उत्कृष्ट ब्याट्सम्यान एमआइबीका हिल्सन पाण्डे क्षत्री र उत्कृष्ट खेलाडी एमआइबीकै आशिष थारु भए ।

उपाधि  विजेता टिमलाई जिल्ला खेलकूद विकास समिति पाल्पाका कार्यवाहक अध्यक्ष दिपक घिमिरे, क्लवका अध्यक्ष विक्रम घिमिरे, खेल संयोजक नवराज बस्याल लगायतले संयूक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका हुन् । पुरस्कार हस्तान्तरण गर्दै प्रमुख अतिथि घिमिरेले जिल्लाको खेल विकासमा क्लवले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले आगामी दिनहरुमा पनि यस्ता प्रतियोगिताहरु सञ्चालन गर्न क्लवलाई आग्रह गर्दै खेलकूद समितिले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । कार्यक्रममा समाजसेवी ज्योतिलाल बस्याल, पत्रकार दयाराज न्यौपाने, क्लवका सचिव पवन बस्याल लगायतले खेल क्षेत्रको विकासका लागि प्रतियोगिता महत्वपूर्ण रहेको बताए ।

 प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार, कप, मेडल र प्रमाणपत्र, द्वितीय हुनेले १० हजार, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा म्यानअफ द टुर्नामेन्टलाई सिल्ड, प्रमाणपत्र कुखुराको भाले, बेस्ट ब्याट्समेनलाई सिल्ड, प्रमाणपत्र, बेस्ट बलरलाई सिल्ड, प्रमाणपत्र र म्यान अफ द म्याचलाई मेडल र नगद प्रदान गरिएको खेल संयोजक नवराज बस्यालले बताए । प्रतियोगिताको समापन क्लवका अध्यक्ष विक्रम घिमिरेको अध्यक्षता, खेल संयोजक  बस्यालको सञ्चालनमा भएको थियो । खेल माघ ३ गतेदेखि ७ गतेसम्म भएको हो ।

 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update