Shittalpati
 पाल्पामा नारायणडाँडा क्रिकेट कप २०८० सुरु 

 पाल्पा, पाल्पाको बगनासकाली गाउँपालिका –१ चिलाङ्दी खेलमैदानमा बुधबारदेखि खुल्ला नारायणडाँडा क्रिकेट  (एनसीसी) कप २०८० सुरु भएको छ ।  नारायणडाँडा क्रिकेट क्लव तानसेन –१ को आयोजनामा ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि  खेलकूद’ भन्ने नाराका साथ एनसीसी कप सुरु भएको हो । 

 क्रिकेट प्रतियोगिताको जिल्ला क्रिकेट संघ पाल्पाका उपाध्यक्ष शैलेन्द्र भट्टराईले ब्याटिङ गरेर प्रतियोगिताको सुरुआत गरे । भट्टराईले ब्याटिङ गर्दा बलिङमा तानसेन नगरपालिका– १ का वडा अध्यक्ष सुनिल बस्याल, किपिङ गल्भ्समा जिल्ला क्रिकेट संघ पाल्पाका सदस्य पूर्णराज शाक्य र फिल्डीङमा जेसीज पाल्पाका अध्यक्ष अर्जुन कार्कीले साथ दिए । प्रतियोगिताको उद्घाटन शत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका भट्टराईले प्रतियोगिताले राष्ट्रियस्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले क्रिकेट संघले गर्नुपर्ने काम क्लवले गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत खेल प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । अध्यक्ष भट्टराईले जिल्ला क्रिकेट संघले  स्थानीयस्तरका खेलाडीहरुको क्षमता वृद्धि गरी राष्ट्रियस्तरका खेलका लागि खेलाडी उत्पादनमा ध्यान दिने गरी योजना बनाएको बताए ।  उनले आगामी प्रतियोगितामा संघले क्लवलाई आवश्यक सहयोग गर्ने समेत धारणा व्यक्त गरे ।  खेल क्षेत्रको विकासमा तीनै तहका सरकारले पनि ध्यान दिनुपर्ने अध्यक्ष भट्टराईले बताए ।

खेल प्रतियोगिताका संयोजक नवराज बस्यालले राष्ट्रिय खेलका रुपमा रहेको क्रिकेटमा खेलाडीहरुको आकर्षण बढाउनुको साथै खेल क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिता गरिएको बताए । उनले गाउँ–  गाउँमा थुप्रै खेलाडीहरु रहेकाले उनीहरुलाई क्रिकेटसँग जोड्न प्रतियोगिता महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।  

उद्घाटन खेलमा एमआइ वि तानसेन र पाल्पाली क्रिकेट प्लेयर (पीसिपी) बिच प्रतिस्पर्धा भएको थियो । जसमा  एमआइ वि तानसेन विजयी भएको छ । दोस्रो खेल बराङ्दी क्रिकेट क्लव र सम्झना युवा क्लव बिच खेल भइरहेको छ । प्रतियोगिता माघ ६ गतेसम्म सञ्चालन हुने छ । खेलमा १५ टिमको सहभागीता रहेको क्वलले जनाएको छ  । प्रतियोगितामा प्रथम हुनेलाई नगद २० हजार, कप, मेडल र प्रमाणपत्र, द्धितीय हुनेलाई १० हजार, कप, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । यस्तै प्रतियोगितामा म्यान अफ द टुर्नामेन्टलाई सिल्ड र प्रमाणपत्र, बेस्ट ब्याट्समेनलाई सिल्ड, प्रमाणपत्र, बेस्ट बलरलाई सिल्ड, प्रमाणपत्र र म्यान अफ द म्याचलाई मेडल प्रदान गरिने क्लवले जनाएको छ । प्रतियोगिताको उद्घाटन शत्र क्लवका अध्यक्ष विक्रम घिमिरेको अध्यक्षता, खेल संयोजक नवराज बस्यालको स्वागत, रविन गैरेको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update