Shittalpati
प्रथम मेयरकप रनिङ्ग शिल्ड  क्रिकेटको उपाधी तानसेन १ (ए) लाई

पाल्पा, तानसेनको टुँडिखेलमा सम्पन्न प्रथम मेयरकप रनिङ्ग शिल्ड  क्रिकेट प्रतियोगिताको उपाधी तानसेन नगरपालिका – १ ‘ए‘ ले हात पारेको छ  । शुक्रबार भएको फाइनल खेलमा वडा नम्बर १ ‘ए‘ ले वडा नम्बर ९ लाई ८ बिकेटले पराजित गर्दै उपाधी  हात पारेको हो ।

जितसंगै वडा नम्बर १ ‘ए‘ ले नगद ६० हजार, ट्रफी प्राप्त गर्यो भने, वडा नम्बर ९ उपबिजेता हुँदै ३० हजारमा चित्त बुझायो । फाइन खेलमा टस जितेर पहिले ब्याटिङ्ग रोजेको वडा नम्बर ९ ले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ४ बलमा सबै बिकेट गुमाएर ८१ रन बनाएको थियो । उसका लागि गोपाल तिमिल्सेनाले २४ रन, भुवन पाण्डेले १८ रन, विजय बौडेलले ९ रनको योगदान गरे । बलिङ्गतर्फ वडा नम्बर १ ‘ए‘ का अर्पन अर्याल र रुपेश बस्यालले समान ३/३ विकेट लिए । यस्तै विमर्श दर्नालले दुई, श्रीधर बस्याल र शिव शर्माले एक ÷एक विकेट लिन सफल भए ।

८२ रनको बिजयी लक्ष्य सहित मैदान उत्रिएको वडा नम्बर १ ‘ए‘ ले सुरुवात राम्रो गर्न नसके पनि रुपेश बस्याल र बिशाल दर्नालको उत्कृष्ट साझेदारीले टिमलाई बिजयी बनाउन सफल भए । रुपेशले ३१ रन र विशालले नटआउट ४३ रनको योगदान दिए । बलिङ्गतर्फ वडा नम्बर ९ का भुवन पाण्डेले  २ विकेट लिन सफल भए ।  

वडा नम्बर १ ‘ए‘ले निर्धारित २० ओभरको खेलमा १५ दशमलभ ४ ओभरमा जित हात पारेको हो । फाइनल खेलका म्यान अफ द म्याच वडा नम्बर १ ‘ए‘ का विशाल दर्नाल भएको नगर खेलकुद विकास समितिका संयोजक हेमन्तराज शाक्यले बताए । तानसेन नगरभित्रका ९ वडाका १४ टिम सहभागी प्रतियोगिता लिग कम नक आउटको आधारमा खेलाइएको थियो । फाइनलमा म्यान अफ दि फाइनल वडा नं. १ (ए) का विशाल दर्नाल भए । खेल अवधिभर ११ विकेट/४४ रन बुटल्ने अर्पण अर्याल प्लेयर अफ दि सिरिज बन्न सफल भए । खेल अवधिमा १५ विकेट लिने  वडा नं. १ (ए) कै विमर्श दर्नाल उत्कृष्ट बलर भए भने १११ रन बटल्न सफल उत्कृष्ट व्याट्सम्यान रुपेश बस्याल भएका छन् ।

खेलाडीलाई लुम्बिनी प्रदेशसभा सदस्य बीरबहादुर राना, तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा गाहा सिंजाली, नगर खेलकुद विकास समितिका संयोजक शाक्य लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गरे । रनिङ्ग शिल्ड प्रतियोगिता अन्तरगत  तिन वटा खेलहरु राखिएकोमा हालसम्म फुटवल र क्रिकेट खेल सम्पन्न भएका छन् भने अब व्याडमिण्टन प्रतियोगिता हुन बाँकी रहेको छ । 

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update