Shittalpati
तानसेनमा प्रथम मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै   

पाल्पा, तानसेन नगरस्तरीय प्रथम मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता २०८०  हुने भएको छ । नगर खेलकुद विकास समिति तानसेनको आयोजनामा यही मंसिर २० देखी तानसेनको टुँडिखेलमा प्रतियोगिता हुने भएको हो । नगर खेलकुद विकास समितिले प्रतियोगिताको बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

समितिका संयोजक एवंं ४ का वडा अध्यक्ष हेमन्तराज शाक्यले  मंसिर २० गतेबाट फुटबल, पौष ७ गतेदेखी क्रिकेट र पौष २७ गते देखी ब्याटमिन्टन प्रतियोगिता सञ्चालन गरिने बताए ।  फुटबलतर्फ जम्मा सहभागी १० टीमले प्रतियोगितमा भाग लिने छन् भने क्रिकेट र व्याडमिन्टनतर्फ दर्ता हुने क्रम जारी रहेको संयोजक शाक्यले जानकारी दिए । प्रत्येक खेलमा तानसेन नगरपालिकाका १४ वटै वडाबाट सहभागिता रहने नगरपालिकाले जनाएको छ । तीन वर्षसम्म लगातार जित्ने टिमले रनिङ्ग शिल्ड सदाका लागि पाउने छ ।

फुटबल प्रतियोगितामा प्रथम पुरस्कार नगद एक लाख, द्वितीय पुरस्कार पचाँस हजार घोषणा गरेको छ ।  प्रत्येक दिन म्यान अफ द म्याचको लागि दुई हजार, उत्कृष्ट गोल किपरको लागि ३ हजार उत्कृष्ट रक्षक (डिफेण्डर) को लागि ३ हजार, उत्कृष्ट फरवार्डको लागि ३ हजार, उदयमान खेलाडीको लागि ३ हजार र उत्कृष्ट खेलाडीको लागि ३ हजार पुरस्कारको व्यवस्था गरिएको संयोजक शाक्यले बताए ।

पत्रकार सम्मेलनमा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले यस बर्ष रनिङ्ग शिल्ड प्रतियोगिताको लागि १५ लाख  बजेट विनियोजन गरेमा आगामी बर्ष बजेटसँगै खेलका विधाहरु थप्दै जाने बताए । उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले महिला विधाका खेलहरुलाई पनि आगमी बर्ष देखी समावेश गरिने बताईन् ।

नगरपालिकाले वडास्तरबाटै सबै किसिमका खेलकुद गतिविधी गर्दै जाने सोही अनुसारका विभिन्न किसिमका पुर्वाधारहरुको विकास गर्दै आएको नगर प्रवक्ता यादव सिंह कार्कीले बताए । रनिङ्ग शिल्ड प्रतियोगिता नगरपालिकाले आगामी दिनमा बढी पदक सम्भावना भएका खेलहरुलाई पहिलो प्राथमिकता दिदै बजेट समेत बृद्धि गर्दै जाने प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीले बताए । नगर शिक्षा अधिकृत कोपिला न्यौपानेको सञ्चालनमा पत्रकार सम्मेलन भएको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update