Shittalpati
तानसेनमा लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो हुँदै  

पाल्पा, पाल्पाको तानसेनमा  यही कार्तिक १७ र १८ गते दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेशस्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता २०८० हुने भएको छ । नेपाल आइटिएफ तेक्वान्दो महासंघ पाल्पाको आयोजना तानसेनको टुँडिखेल मैदानमा प्रतियोगिता हुन लागेको हो ।

लुम्बिनी प्रदेशका १२ जिल्ला, तीन विभागिय टोली र आयोजक टोली गरी ६४ जना  खेलाडीहरुले प्रतियोगितामा प्रतिष्प्रर्धा गर्ने भएका छन् । प्रतियोगितामा महिला तर्फ ४६ केजी देखी ५२ केजी सम्म र पुरुषमा ४९ केजी देखी ५५ केजी तौल भएका खेलाडीहरु बिच एकल स्पारिङ्गमा प्रतिष्प्रर्धा हुने छ ।  तेक्वान्दो खेलाडी रिता र अनिलको संम्झनामा प्रतियोगिता लागेको आयोजकले जनाएको छ । 

नेपाल खेलकुद पत्रकार  मञ्च पाल्पाले तयारीका विषयमा जानकारी गराउन पत्रकार भेटघाट कार्यक्रम गरेको छ । कार्यक्रममा तेक्वान्दो महासंघ पाल्पा अध्यक्ष निर बहादुर सारुले प्रत्येक जिल्लाबाट पुरुष दुई र महिला दुई गरी ४ जनाको दरले प्रतियोगितामा खेलाडीहरुको सहभागिता रहने  बताए । प्रथम पुरस्कार विजेता पुरुष र महिलाले तीस÷तीस हजार नगद, प्रमाण पत्र, गोल्ड मेडल पुरस्कार पाउने छन् भने द्धितिय हुनेले विस÷ विस हजार नगद, प्रमाणपत्र र रजत पदक पाउने छन् भने तेस्रो हुनेले दश ÷दश हजार नगद, प्रमाण र कास्य पदक पुरस्कार पाउने अध्यक्ष सारुले जानकारी दिए । 

प्रतियोगिता सञ्चालनका लागि करीव साढे ८ लाख रुपैया खर्च लाग्ने र सो व्यवस्थापनको लागि पालिकाबाट सहयोग जुटाईने आईटिएफका पुर्व खेलाडी एव पाल्पाका सल्लाहकार देव पचभैयाले बताए । पाल्पाका आईटिएफ खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल्डमेडल जितेका थुप्रै खेलाडी रहेकाले पाल्पाका पालिकाहरुले आवश्यकता अनुसार सहयोग गर्ने विश्वास आईटिएफ पाल्पाले गरेको पचभैयाले बताए । 

कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले पाल्पामा आईटिएफ खेलप्रति युवाहरुमा आकर्षण बढ्दो रहेको र पाल्पाका विद्यालयहरुमा समेत आईटिएफ डोजाङ्ग निर्माण भईरहेको बताए । उनले जिल्लामा प्रशस्त अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल्डमेडल विजेता खेलाडीहरु रहेकोले पाल्पालाई राष्ट्रिय स्तरमै खेलाडी उत्पादन गर्ने जिल्लाको रुपमा परिचित गराउन सबैपक्षबाट आवश्यक सहयोग हुनुपर्नेमा जोड दिए । नेपाल खेलकुद पत्रकार मञ्च पाल्पाका कार्यसमिति सदस्य कृष्ण कार्कीले प्रतियोगिता सम्पन्न गर्नको लागि आईटिएफ पाल्पासँग सहकार्य गरी काम गर्दै आएको बताए । कार्यक्रममा सहभागी भएकी आईटिएफकी पुर्व राष्ट्रिय खेलाडी आयुसा कार्कीले प्रतियोगिता सम्पन्न गराउन आफु विदेशबाट स्वदेमै आएको बताईन् । पाल्पामा १४ वटा डोजाङ्गबाट नियमित रुपमा आईटिएफका खेलहरु सञ्चालन हुँदै आएका छन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update