Shittalpati
कर्णेल उजीरसिंह पाल्पा गोल्ड कपको आय–व्यय सार्वजनिक

पाल्पा, कर्णेल उजीरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ ।  पाल्पा जिल्ला फुटबल संघले जेठ १५ देखि २७ गतेसम्म तानसेनको टुँडिखेलमा सञ्चालन गरेको प्रतियोगिताको शनिबार एक कार्यक्रमकाबिच आय–व्यय सार्वजनिक गरेको हो ।

संघका अध्यक्ष एवं प्रतियोगिता मूूल आयोजक समितिका संयोजक प्रणयवीर जंग राणाले ३३ लाख ३२ हजार ३ सय ९७ रुपैयाँ बराबरको आय व्यय प्रस्तुत गरे । उनले विभिन्न संघ संस्था,व्यक्ति, स्थानीय र प्रदेश सरकारबाट ३३ लाख ३२ हजार ३ सय ९७ आम्दानी भए पनि १ लाख २ हजार २ सय ५३ रुपैयाँ नोक्सान रहेको बताए । अध्यक्ष राणाले सबैको सहयोग र साथका कारण प्रतियोगिता सफल भएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए । उनले जनस्तरबाट ठूलो सहयोग भएकाले आगामी दिनमा यस्ता प्रतियोगिता आयोजना गर्न संघलाई थप प्रोत्साहन मिलेको बताए ।

कार्यक्रमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले चुनौतीका विच पनि गोल्ड कप प्रतियोगिता सञ्चालन गर्न सफल भएकोमा संघप्रति आभार व्यक्त गरे । उनले आगामी दिनमा  स्थानीय सरकारसँग समन्वय गरेर जान सके स्रोतको कुनै पनि अभाव नहुने बताए । प्रमख अतिथि समेत रहेका बस्तोलाले आगामी दिनमा सातै प्रदेशका खेलाडीहरुलाई ल्याउन सक्ने वातावरण सिर्जना गर्न संघलाई आग्रह समेत गरे । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, तानसेन नगरपालिकाका प्रवक्ता यादवसिं कार्की, संघका सल्लाहाकार एवं नेपाली काँग्रेस तानसेन नगर सभापति सुवर्णमुनी शाक्य, नेपाल प्रेस युनियन पाल्पाका उपसभापति रामचन्द्र रायमाझी लगायतले खेल क्षेत्रको विकासमा फुटबल संघले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

संघले प्रतियोगितामा सहयोग गरेका व्यक्ति/संघसंस्थाहरुलाई सम्मान समेत गरेको थियो । संघका अध्यक्ष प्रणयवीर जंग राणाको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष मनोजमान लिगलको स्वागत, सचिव करण चित्रकारको सञ्चालनमा कार्यक्रम भएको थियो । प्रतियोगितामा १२ टिमले भाग लिएका थिए । जसमा सेन्ट्रल कलेज रोडस् रामपुर फुटबल क्लब चितवनले उपाधि हात पारेको थियो । प्रतियोगिताको उपाधि प्राप्त गरेको चितवनलाई नगद ३ लाख, पाल्पाली करुवा ट्रफी दिइएको थियो भने दोस्रो भएको वालिङ्ले नगद १ लाख ५० हजार, पाल्पाली करुवा प्राप्त गरेको थियो ।  प्रतियोगितामा प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद ३ हजार दिइएको थियो भने उत्कृष्ट गोल रक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद ६ हजार प्रदान गरिएको थियो । पाल्पामा लामो समयपछि गोल्ड कप भएको थियो । 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update