Shittalpati
तानसेनमा खुल्ला भलिबल प्रतियोगिता हुँदै 

पाल्पा, पाल्पाको सदरमुकाम तानसेनस्थित टुँडिखेल मैदानमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । श्रीनगर भलिबल क्लवको आयोजनामा यही भदौ १८ गतेदेखि २१ गतेसम्म प्रतियोगिता हुन लागेको हो । 

क्लवलले शुक्रबार तानसेनमा पत्रकार सम्मेलन गरी प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।  खेल क्षेत्रको विकाससँगै राष्ट्रिय खेलाडी उत्पादन  गर्ने उद्देश्यले ‘प्रथम रणउज्जेश्वरी भगवती कप २०८०’ प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका अध्यक्ष कृष्णबहादुर आलेले बताए । उनले भने ‘देश, विदेशमा रहनुहुने नेपाली, खेलप्रेमी व्यक्तित्वहरुको सहयोग र शुभेच्छाका कारण प्रतियोगिता गर्न लागेका हौं ।’ 

प्रतियोगितामा प्रथम हुनेले एक लाख ११ हजार १ सय ११, द्धितिय हुनेले ७७ हजार ७ सय ७७, तृतिय हुनेले  ४४ हजार ४ सय ४४ र सान्तवना हुनेले २२ हजार २ सय २२ नगद पुुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कृत गरिने अध्यक्ष आलेले बताए ।  उनका अनुसार पुुरस्कारसहित प्रतियोगिता व्यवस्थापनका लागि आठ लाख ५० हजार १ सय ५४ बराबरको  खर्च अनुमान गरिएको छ । उक्त बजेटका लागि विभिन्न सहयोगीदाताहरुको सहयोग रहने आयोजकले अपेक्षा गरेको छ । प्रतियोगितामा १० टिमसम्मको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिता हुने समयमा श्रीकृष्ण जन्माष्टमी तथा ऐतिहासिक भगवती जात्रा परेकाले पनि खेलाडी र दर्शकहरुको उल्लेखीय सहभागिता रहने क्लवका अध्यक्ष आलेले बताए ।  

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति पाल्पाका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले क्लवले जिल्लाको खेलकूदलाई चलायमान बनाउने र खेलको विकासमा टेवा पुर्‍याउने गरी प्रतियोगिता आयोजना गर्न लागेकोमा खुसी व्यक्त गरे । उनले खेल र खेलाडी उत्पादनमा समेत यस्ता प्रतियोगिता महत्वपूर्ण हुने भन्दै प्रतियोगिताका लागि खेलकूद विकास समिति पाल्पा र लुम्बिनी प्रदेशबाट आवश्यक सहयोग रहने बताए । सोही अवसरमा  अध्यक्ष घिमिरेले प्रतियोगिताका लागि व्यक्तिगत रुपमा १० हजार १ सय सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गरे । प्रतियोगिताको प्रचार –प्रसार गरी खेल प्रतियोगितालाई सफल बनाइदिन क्लवका अध्यक्ष आलेले पत्रकारहरुलाई आग्रह समेत गरेका छन् । २०७५ सालमा स्थापना भएको क्लवलले राष्ट्रियस्तरका दर्जानौं खेलाडीहरु उत्पादन गर्न सफल भएको छ । उसले विभिन्न समयमा महिला र पुरुष भलिबल प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ ।  आगामी दिनहरुमा पनि प्रतियोगिताहरुलाई निरन्तरता दिर्दै जाने क्लवका सचिव दिपक चोहानले बताए । 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update