Shittalpati
डच लिग पनि स्थगित हुने सम्भावना

काठमाडौं, विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण विश्वका अधिकांश खेलहरु स्थगित हुँदै आएका छन् । यसै बीचमा नेदरल्याण्ड्सको शीर्ष डिभिजनको फुटबल पनि स्थगित हुने सम्भावना बढेको हो । डच फुटबल एसोसिएसनले एरेडिभिज सिजन २०१९/२० लाई निरन्तरता नदिने सम्भावना रहेको जनाएको छ । कोरोना भाइरसका कारण डच सरकारले सेप्टेम्बर १ सम्म खेलकुद गतिविधिमा प्रतिबन्ध लगाएपछि एसोसिएसनले लिग रद्द गर्ने तयारी गरेको हो । अयाक्स र एजेड अल्माकरले लिगको उपाधि होडमा अगाडि छन् । दुवैको समान २६ अंक छ ।

गोलअन्तरमा अयाक्स अगाडि छ । डच फुटबलको सर्वोच्च निकाय केएनभीबीले स्टेटमेन्ट जारी गर्दै यस सिजन निरन्तर गर्ने मनसाय नरहेको जनाएको छ । यद्यपि, युइएफसँग छलफल गरेर यसबारे अन्तिम निर्णय लिने जनाएको छ । युइएफएले मंगलबार मात्रै युरोपका केही लिगहरू रद्द हुन सक्ने जनाएको थियो । ‘सरकारको निर्णयमा आधारित रहेर केएनभीबीले युइएफसँग परामर्श गर्नेछ र त्यसपछि निर्णय लिनेछ ।’ केएनभीबीले स्टेमेन्टमा भनेको छ । ‘केएनभीबीले अहिलेसम्म लिग रद्द गरिसकेको छैन किनकी कोरोनाको कारण फुटबलमा अहिले आर्थिक संकट परिरहेको छ ।’ पछिल्लो निर्णयको बारेमा छलफल गर्ने लिगका क्लबहरूबीच आज छलफल हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update