Shittalpati
खेलकुद विकासका लागि लगानी र सोच आवश्यक रहेकोमा जोड

पाल्पा, खेलकुद विकासका लागि लगानी र सोच आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च पाल्पा शाखाले आयोजना गरेको ‘खेलकुदको अवस्था र सम्भावना’ विषयक अन्तरक्र्रियामा सहभागीहरुले यस्तो बताएका हुन् ।

उनीहरुले पाल्पामा खेलकुदको सम्भावना भएर पनि लगानी र सोचको अभावले खेलकुद गतिविधि सुस्ताएको बताए । खेल क्षेत्रको विकास गरी समृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरा सरकार र सम्वद्ध संघसंस्थाहरुले ध्यान दिन सके मात्र जिल्लाको खेलकुुदले गति लिनेमा सहभागीहरुले जोड दिए ।  उनीहरुले तराईको उखरमाउलो गर्मीमा पहाडमा खेलकुदका गतिविधि बढाउने हो भने स्थानीय, संघीय र प्रदेशस्तरका खेलकुद गर्न सकिने सम्भावना प्रशस्त भए पनि खेलसम्वद्ध संस्थाहरुको चासो नहु“दा खेल गतिविधि हुन नसकेकोमा चिन्ता व्यक्त गरे । सहभागीले जिल्ला खेलकुद विकास समिति, खेलसँग सम्बन्धित संघसंस्थाहरु बजेट अभाव भन्दै खेलकुद गतिविधि नगर्दा नै खेल सम्वद्ध खेलाडीहरु पलायन हुनुपरेको समेत बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले सोच र चिन्तन नभएकै कारण जिल्लाको खेल क्षेत्रले गति लिन नसकेको बताए । उनले सोचमा परिवर्तन गर्न सकेमा ठूलो लगानी पनि गर्न नपर्नेमा जोड दिए । पछिल्ला दिनमा पाल्पा जिल्ला फुटबल संघको गतिविधिले खेलकुद नै चलायमान बनाएको अध्यक्ष रानाले बताए । ‘आर्थिक अभावकै कारण पनि उत्कृष्ट कार्यक्रम गर्न सकिन्छ भन्ने प्रमाणित गरेको पाइयो,’ उनले भने, ‘अन्य खेल सम्बद्ध संघसंस्थाले पनि बजेट अभाव भनेर बस्ने भन्दा पनि खेलकुद गतिविधि बढाउनुपर्छ ।’ खेलकुद गतिविधिबाट प्रत्यक्ष लाभ लिने क्षेत्र होटल व्यवसायी, उद्योगी, व्यापारीले खेलकुदको विकासका लागि सहयोग गर्नुपर्नेमा अध्यक्ष रानाले जोड दिए । उनले खेलकुद गतिविधि बढाउन स्थानीयको सक्रियता आवश्यक हुने बताउ“दै जिल्लाका स्थानीय तहले वर्षेनि ५ करोड बढी खर्चिए पनि उपलब्धि नदेखिएको बताए ।

पाल्पा जिल्ला फुटबल संघका पूर्व महासचिव भरत शर्माले फुटबल, भलिबल जस्ता खेलले नेपालमै उत्कृष्ट स्थान हासिल गरेको इतिहास भए पनि पछिल्लो समयमा भौतिक पूर्वाधार तयार नभएकाले सुस्ताएको बताए । पाल्पामा खेलकुदको विकासका लागि एकेडेमी आवश्यकता रहेको बताउँदै जग्गा अभावमा फुटबलको एकाडेमी बन्न नसकेर अन्यत्र गएको स्मरण गरे ।

जिल्ला खेलकुद विकास समितिका पूूर्व अध्यक्ष करुणा काफ्लेले विगतमा खेलकुदको क्षेत्र धेरै अब्बल भएको बताउँदै पुरानो साख गुमेको बताए । ‘छिमेकका अन्य जिल्ला खेलकुदमा धेरै अगाडि बढ्दा पाल्पाले उल्लेख्य प्रगति गर्न सकेको छैन,’ उनले भने, ‘खेलका पूर्वाधारको अवस्था दयनीय बनेको छ । खेलकुदको अवस्था सुधार गर्न सरकारले विशेष लगानी गर्नुपर्छ ।’

पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय वीरजंग राणाले सम्भावना भएर पनि आर्थिक स्रोत जुटाउन नसक्दा खेलकुदको गतिविधि अघि नबढेको बताए । ‘मौसमको हिसाबले पाल्पा निकै राम्रो छ,’ उनले भने, ‘खेलकुदमा लगानी गर्नुपर्छ भन्ने भावना नै नभएकाले समस्या आएको हो ।’ पाल्पाको खेलकुद विकासका लागि उद्योगी, व्यवसायी, होटल व्यवसायीले सहयोग गर्नुपर्नेमा उनले जोड दिए  ।  कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य मिलन विक, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष मन गैरे, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश लेखा समिति संयोजक मुक्तिप्रसाद न्यौपाने, समाजवादी प्रेस संगठनका अध्यक्ष पदम गैरे लगायतले पाल्पामा खेलकुदको गतिविधि सञ्चालन गर्दा व्यवस्थापन राम्रो भयो भने सफलता पाइन्छ भन्ने केही समय अगाडि सम्पन्न फुटबल प्रतियोगिताले देखाएको बताएका थिए । उनीहरुले खेलकुदको अधिक सम्भावना भएको जिल्ला भएकाले पनि तिनै तहका सरकारले लगानी गर्नुपर्ने बताउँदै पत्रकारलाई खेलकुद बिटमा समाचार लेख्न प्रेरित गर्नुपर्नेमा जोड दिए । कार्यक्रम मञ्चका जिल्ला अध्यक्ष माधव अर्यालको अध्यक्षता, सदस्य कृष्ण कार्कीको स्वागत, कोषाध्यक्ष कमल अधिकारीको सञ्चालनमा भएको थियो ।  

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update