Shittalpati
ललिता निवास प्रकरणमा सात जना पक्राउ

पाल्पा,ललिता निवासको जग्गा प्रकरणमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले काठमाडौँका विभिन्न क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।

 पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव भुपेन्द्रमणि केसी, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, गोपाल कार्की , निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह छन् ।   सरकारी स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गर्ने कार्यमा संलग्न भएको अरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

डेढ वर्षअघि महान्यायाधीवक्ताको हस्तक्षेपका कारण रोकिएको अनुसन्धान प्रहरीले अहिले अघि बढाउन थालेको हो । स्रोतका अनुसार त्यो घटनामा जोडिएका अरु केही व्यक्तिहरुको पनि प्रहरीले खोजी गरिइरहेको छ । ललिता निवासको जग्गा अनियमिततामा सुरुमा अख्तियारले अनुसन्धान थालेको थियो । उसले दायर गरेको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ । अख्तियारले भ्रष्टाचार बाहेक ठगी र सरकारी कागजात किर्ते गरेको अभियोगमा समेत अनुसन्धान गर्नुपर्ने भनी राय तयार गरेको थियो । महान्यायाधीवक्ता कार्यालयले ठगीमा मुद्दा चल्न नसक्ने भनि फाइल बन्द गरिसकेको छ ।

दुई वर्षअघि सरकारी कागजात किर्तेको आरोपमा अनुसन्धान अघि बढे पनि मुद्दा दायर हुन सकेन । त्यतिबेला रोकिएको फाइल अहिले अघि बढेको हो । विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत कीर्ते गरी हिनामिना भएको सार्वजनिक भएको थियो । सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ । ललिता निवास प्रकरणमा यसअघि तीनसय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो । त्यसपछि अनुसन्धान जारी रहेको बताए पनि थप प्रगति भएको थिएन । 
 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update