Shittalpati
पाल्पा गोल्ड कपको उपाधि रोडस् चितवनलाई

रामचन्द्र रायमाझी 
पाल्पा,
 कर्णेल उजीरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि सेन्ट्रल कलेज रोडस् रामपुर फुटबल क्लब चितवनले हात पारेको छ । शनिबार तानसेनको टुुँडिखेलमा भएको फाइनल खेलमा होराइजन फुटबल क्लव वालिङ स्याङजालाई २–० गोलले पराजित गर्दै रोड्सले उपाधि हात पारेको हो । 

रोड्सका बिक्की चाम्लिङ राइले दुई गोल हानेर क्लवलाई उपाधि दिलाउन सफल भए । फाइनल खेलको पहिलो हापको तेस्रो मिनेटमा पहिलो गोल गरेका राईले दोश्रो हापको चौथो मिनेटमा पेनाल्टी मार्फत पुनः दोस्रो गोल हान्न सफल भएका थिए । सुुरुवातदेखि नै चितवनलाई धवाबमा राखेको होराइजन फुटबल क्लव वालिङले एक गोल पनि गर्न सकेन । खेलमा आक्रामक र रक्षात्मक खेलेका वालिङ्का खेलाडीले निर्धारित समयमा गोल गर्न भने असफल भए । 

उपाधि प्राप्त रोड्स चितवनले फोर ब्रदर्स पश्चिम नवलपरासीलाई २–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । उक्त खेलमा पनि विक्की चाम्लिङ राईले फाइनल प्रवेश गर्न ठूलो भूमिका खेलेका थिए ।  उनले खेलको दोस्रो हाफको ४८ औं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए भने  ७० औं मिनेटमा निरज थापा मगरले गोल थप्दै टिमलाई २–० ले विजयी बनाउन सफल भएका थिए । 

उपविजेता भएको वालिङले सेमिफाइनलको खेलमा  नेपाली सेनाको दि फेमस महिन्द्र दल गणलाई २–० ले पछि पार्दै फाइनल प्रवेश गरेको थियो । खेलमा पहिलो हाफको ७ औं मिनेटमा टीकाराज गुरुङले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए भने खेलको ८१ औं मिनेटमा विवेक चौधरीले दोस्रो गोल गरेर टिमलाई बलियो बनाउँदै २–० ले जित निकाल्न सफल भएका थिए । फाइनल खेलमा वालिङले प्रदर्शन राम्रै गरे पनि निर्धारित समयमा गोल गर्नबाट भने चुक्यो । 

प्रतियोगिताको उपाधि प्राप्त गरेको चितवनले नगद ३ लाख, पाल्पाली करुवा ट्रफी पाएको छ भने दोस्रो भएको वालिङ्ले नगद १ लाख ५० हजार, पाल्पाली करुवा प्राप्त गरेको छ । रोड्स चितवनका अमृत गुरुङ म्यान अफ द म्याच भए । उनले ३ हजार पुरस्कार पाएका छन् । विजेतालाई तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणयवीर जंग राणा, लगायतले पुरस्कार हस्तान्तरण गरे ।

प्रतियोगिता जेठ १५ देखि भएको थियो । जसमा १२ टिमले भाग लिएका थिए । प्रतियोगितामा दैनिक एक मात्र खेल खेलाइएको फुटबल संघका अध्यक्ष राणाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद ३ हजार दिइएको थियो भने उत्कृष्ट गोल रक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद ६ हजार प्रदान गरिएको थियो । पाल्पामा लामो समयपछि गोल्ड कप भएको हो । फुटवल हेर्न टँुडिखेलमा हजारौ दर्शकहरुको सहभागीता रहेको थियो । प्रतियोगिता हेर्न अस्थायी प्यााफिट निर्माणले फुटवल प्रेमीले मजाले फुटवल हेर्न पाएका थिए ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update