Shittalpati
रानीमहल ‘बिच भलिबल’को केन्द्र घोषणा

हाम्रा संवाददाता
पाल्पा, पाल्पाको रानीमहललाई बिच भलिबल केन्द्रको रुपमा घोषणा गरिएको छ । रानीमहल क्षेत्रमा पर्ने तानसेन नगर सरकार र बगनासकाली गाउँ सरकारले यहाँको क्षेत्रलाई ‘बिच भलिबल’ को केन्द्रका रुपमा घोषणा गरेका हुन् ।

पछिल्लो समय यहाँ विभिन्न खेल प्रतियोगिताहरु सञ्चालन हुँदैै आएका छन् । २०७८ देखि रानीमहलको प्रंगणमा बिच भलिबल प्रतियोगिता हुँदै आएको हो । निरन्तर बिच भलिबल प्रतियोगिता हुन थालेपछि यस क्षेत्रलाई बिच भलिबलको केन्द्रको रुपमा घोषणा गरिएको छ । रानीमहललाई खेल र पर्यटनसँग जोड्न नेपालमै पहिलो पटक ‘बिच भलिबलको केन्द्र’ घोषणा गरिएको छ । यहाँ खेल प्रतियोगिता आयोजना गर्न प्रशस्त सम्भावना पनि समेत रहेको छ । २०७८ मा यस क्षेत्रमा राष्ट्रिय महिला बिच भलिबल प्रतयोगिता भएको थियो । यस वर्ष पुरुषतर्फको राष्ट्रिय बिच भलिबल भएको प्रतियोगिता भएको छ । यसले पनि रानीमहल क्षेत्र खेल क्षेत्रको हव बन्ने आधार पुष्टि गरेको छ । भौतिक पूर्वाधारको थप व्यवस्था गर्न सके खेलको विकासमा यसले ठूलै फड्को मार्न सक्ने देखिन्छ ।

यहाँका दुुई स्थानीय सरकारले खेल क्षेत्रको सम्भावना देखेर रानीमहललाई बिच भलिबलको केन्द्रका रुपमा घोषणा गरेका हुन् । तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ र बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले रानीमहललाई ‘बिच भलिबल’को हब बनाउने प्रतिवद्धता सहित ‘बिच भलिबल’केन्द्रको रुपमा घोषणा गरेका छन् । ‘रानीमहल क्षेत्र ’बिच भलिबल’को केन्द्र’ घोषणा गर्दै उनीहरुले आगामी दिनमा हुने प्रतियोगिताका लागि आवश्यक पूर्वाधार विकास निर्माण गर्ने बताएका छन् । दुवै स्थानीय तहले गरेको प्रतिवद्धतामा सञ्जय स्मृति प्रतिष्ठान, जिल्ला खेलकुद विकास समिति र जिल्ला भलिबल संघ साक्षी बसेका छन् । दुवै स्थानीय सरकार प्रमुखले प्रतियोगिताका लागि पूर्वाधार निर्माणदेखि निरन्तरताका लगानी गर्ने बताएका छन् । अघिल्लो वर्ष सञ्जय मेमोरियल फाउन्डेसनले महिलाहरुको राष्ट्रिय बिच भलिबल प्रतियोगिता गरेको थियो भने यस वर्ष पुरुषतर्फको राष्ट्रिय बिच भलिबल  प्रतियोगिता गरेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update