Shittalpati
पाल्पा रानीमहलमा भलिबल प्रतियोगिता सञ्चालन

कृष्ण पोखरेल
पाल्पा, पाल्पाको रानीमहल कालीगण्डकी बगरमा राष्ट्रिय बिच भलिबल प्रतियोगिता सुरु भएको छ । सञ्जय मेमोरियल फाउन्डेसनको आयोजन र पाल्पा भलीवल संघको समन्वयमा सुरु प्रतियोगिता विहीबारदेखि सञ्चालन भएको हो ।

पहिलो दिन विभागीय टिम आर्मी, गण्डकी प्रदेश र लुम्बिनीले विजयी सुरुआत गरेको छन् । प्रतियोगितामा आर्मीले लुम्बिनी र गण्डकीले आयोजक पाल्पालाई सोझो सेटमा हराए । आर्मीले लुम्बिनीलाई २१–१५ र २१–११ को सेटमा पराजित गर्याे भने गण्डकीले आयोजक पाल्पालाई २१–११ र २१–१५ को सेटमा हराएको छ । तेस्रो खेलमा सुदुरपश्चिम मैदानमा उपस्थिति हुन नसकेपछि लुम्बिनी प्रदेश स्वतः विजयी भएको छ । यस्तै चौथो खेलमा गण्डकी प्रदेशले बागमतीलाई सोझो सेटमा पराजित गरेको छ । गण्डकीले बागमतीमाथि २१–१६ र २१–१५ को सेटमा जित निकालेको छ ।

सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनमा र पाल्पा भलीवल संघको समन्वयमा सुरु प्रतियोगिता बैशाख ३० गते शनिबारसम्म चल्नेछ । प्रतियोगितामा कोशी बाहेकका ६ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरी १० टिम सहभागी भएका छन् । प्रतियोगिताको विजेता टिमले १ लख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । उपविजेता टिमले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल, तेस्रो हुने टिमले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र सानत्वना हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ट्रफी सहित १० हजार रुपैयाँ प्राप्त गर्ने फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले बताईन् । प्रतियोगितामा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ र बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती दर्लामी चिदीले रानीमहललाई वीच भलिबलको हब बनाउने लिखित प्रतिबद्धता गरेका छन् । विच भलिवल प्रतियोगिताका लागि पूर्वाधार निर्माणको लागी तानसेन नगरपालिका र बगनास काली गाउँपालिकाले निरन्तरताका लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । रानीमहल कालीगण्डकी किनारमा गत बर्ष महिला वीच भलिबल प्रतियोगिता सञ्चालन भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update