Shittalpati
रानीमहलमा हुने राष्ट्रिय भलिबलको तयारी पुरा

पाल्पा, यही बैशाख २८ गतेदेखि ३० गतेसम्म पाल्पाको ऐतिहासिक पर्यटकीय स्थल रानीमहलमा हुन लागेको पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । सञ्जय मेमोरियल प्रतिष्ठानको आयोजना र पाल्पा भलिबल संघको सह–आयोजनामा हुन लागेको प्रतियोगिताको तयारी पुरा भएको हो । आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ ।

प्रतियोगितामा ६ प्रदेश, तीन विभागीय टिम र आयोजक गरी १० टिमको सहभागीता रहने सञ्जय मेमोरियल प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले जानकारी दिइन् । प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी, मधेश, बागमती प्रदेश, एपीएफ, आर्मी, पुलिस र सह–आयोजक पाल्पा जिल्ला भलिबल संघको टिम सहभागी हुने अध्यक्ष मास्केले जानकारी गराइन् । लिग र नकआउट आधारमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन बैशाख २८ गते दिउँसो १ बजे हुने पाल्पा भलिबल संघका महासचिव कृष्ण आलेले जानकारी दिए । उनले बिहीबार साँझसम्म प्रतियोगितामा सहभागी हुने सम्पुर्ण टिम र अफिसियल तानसेन आईपुग्ने बताए । खेलकुदमार्फत पाल्पाको पर्यटकीय क्षेत्र रानीमहलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यमा सबैको साथको अपिल समेत गरिएको छ । प्रतियोगिताको विजेता टिमले १ लख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेता टिमले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल, तेस्रो हुने टिमले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र सानत्वना हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतिष्ठानका सचिव हिम बिक्रम केसीले बताए । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा अध्यक्ष माधव अर्याल, नेपाल पत्रकार महासंघका सचिव यज्ञमुर्ति तिमिल्सेना, आदिवासी जनजाति पत्रकार महासंघका देव पचभैया, प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्की, सनराईज टेलिभिजनका सन्तोष बस्याल लगायतले पाल्पामा हुने राष्ट्रिय प्रतियोगितालाई सबैको साथमा सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए । अघिल्लो वर्ष सञ्जय मेमोरियल प्रतिष्ठानले आयोजना गरेको थियो भने यसपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग र नेपाल भलिबल संघबाट स्वीकृतिमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा जनसहभागीता बढाउन अन्तिम दिन बैशाख ३० गते बिहान रानीमहल दौडको समेत आयोजना गरिने भएको छ । तानसेनको कैलाशनगरदेखि रानीमहलसम्मको १३ किलोमिटर दौडलाई प्रतियोगिताका रुपमा लिइएको छ । सञ्जय मेमोरियल प्रतिष्ठानले पुरस्कारको व्यवस्थासमेत गरेकाले सहभागी हुनसमेत आग्रह गरिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update