Shittalpati
नेपाल यू–१९ विश्वकपमा छनोट

काठमाडौँ, नेपालले आईसीसी यू–१९ विश्वकपमा छनोट भएको छ । निर्णायक खेलमा नेपालले यूएईलाई बिहीबार ७ रनले पराजित गर्दै अर्को वर्ष श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो ।

१९२ रनको लक्ष्य पाएको यूएईलाई नेपालले ४८ ओभरमा १८४ रनमा अलआउट गर्‍यो । नेपालका दीपेश कँडेलले अन्तिम ३ विकेट लिँदै ह्याट्रिक पूरा गरी अविस्मरणीय रुपमा नेपाललाई खेलमा फर्काउँदै विश्वकपमा पुर्‍याएका हुन् । ६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली बन्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा पुगेको हो ।

नेपालले सबै पाँच खेल जित्यो भने यूएईले पाँचमध्ये ४ खेल जित्यो । नेपालले २०१६ यता आईसीसी यू–१९ विश्वकप खेलेको छैन । नेपाललाई विजय दिलाउने क्रममा ह्याट्रिक हिरो दीपेश कँडेल ५ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै ३९ रन खर्चिएका थिए । ४८ औं ओभरको अन्तिम तीन बलमा उनले लगातार तीन विकेट लिएका थिए । हेमन्त धामीले र सुवास भण्डारीले २/२ विकेट लिए । यूएईबाट कार्ल डिसुजाले ५० रन बनाए । ६६ बल खेलेका उनले ८ चौका प्रहार गरे । आर्यान सक्सेना ३४‚ आर्यान्स शर्मा ३२‚ अमर बदामी १९ र ध्रुव पराशर १७ रनमा आउट भए । यसअघि यूएईको अजमानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा १ सय ९१ रन बनाएर अलआउट भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update