Shittalpati
रैनादेवी छहरामा अध्यक्ष कप प्रतियोगिता सुुरु, विजेताले ५० हजार पाउने

कृष्ण पोखरेल
पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा तेस्रो अध्यक्ष कप भलिवल प्रतियोगिता शुरु भएको छ । पालिकास्तरीय खेलमैदान कटौजेपानीमा शुरु भएको प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष रुकमागत भट्टराईले शुभारम्भ गरे ।

अध्यक्ष कप शुरुवात गर्दै पालिका अध्यक्ष भट्टराईले रैनादेवी छहरालाई भलिव खेलमा जिल्लाकै उत्कृष्ट बनाउन वडा–वडा, टोल –टोलमा खेल मैदान निर्माणका लागि आगामी दिनमा बजेट विनियोजन गर्ने बताए । पालिकालाई भलिबल खेलको माध्यमबाट परिचित गराउन खेलाडीहरुलाई प्रोत्साहन गरिने अध्यक्ष भट्टराईले बताए । विद्यालय विद्यालयहरुमा खेलाडीहरुको उत्पादन कार्यक्रम आगामी बर्षमा जोड दिने अध्यक्ष भट्टराईले जानकारी दिए । कार्यक्रममा उपाध्यक्ष युवराज थापा, निवर्तमान पालिका अध्यक्ष राम बहादुर कार्की, राजननीतिक दलका प्रतिनिधीहरुले भलिवल क्षेत्रको उर्वर भुमी रहेकाले पालिकाले खेलाडी उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रत्येक वडा बाट एक एक टोली सहभागी भएको प्रतियोगितामा १६ वटा खेल हुने छन् । प्रतियोगितामा विजेता टोलीले नगद ५० हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र पुरस्कार पाउने छ । प्रतियोगिताको उप विजेता टोलीले नगद ३० हजार, प्रमाणपत्र, शिल्ड, तृतिय टोलीले नगद २० हजार, प्रमाणपत्र , शिल्ड र सान्तवना टोलीले नगद १० हजार, प्रमाणपत्र र शिल्ड पुरस्कारको व्यबस्था गरिएको अध्यक्ष कप प्रतियोगिताका संयोजक जीवन रानाले बताए ।

अध्यक्ष कप शुभारम्भ प्रतियोगितामा जिल्लामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई नगद रकम सहित सम्मान गरिएको पालिकाका सूचना अधिकृत नारायण मल्लले जानकारी दिए । बुधवार भएको प्रतियोगितामा वडा नंं १ सिद्धेश्वरले वडा नंं ३ भुवनपोखरीलाई, वडा नंं ४ छहराले वडा नंं २ सोमादीलाई वडा नंं ७ बल्ढेङगढीले वडा नंं ५ मुझुङलाई र वडा नंं ८ सत्यवतीले वडा नंं ६ जुठापौवालाई पराजित गरेको सूचना अधिकारी मल्लले बताए । प्रतियोगिता फागुन १९ गते सम्म सञ्चालन हुने छ ।

 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update