Shittalpati
यू–१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

काठमाडौं,आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले सोमबार हङकङलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ । युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर आकाश त्रिपाठीले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए ।

यस्तै उत्तम थापा मगरले अविजित ३९ रन बनाए । छक्का प्रहार गर्दै जिताएका आकाशले ७२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । ५० बल खेलेका उत्तमले ४ चौका प्रहार गरे । २६ रन जोड्दा नेपालले छैटौं ओभरमा पहिलो विकेट गुमाएको थियो । तर आकाशले उत्तम थापा मगरसँग दोस्रो विकेटका लागि अविजित ९८ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । ओपनर अर्जुन कुमालले १६ रन जोडे । हङकङका डानिएल मोर्गन मपले १ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको हङकङ नेपाली बलरको कसिलो बलिङ सामु ४६.३ ओभरमा १ सय २० रनमा अल आउट भएको थियो ।

हङकङका लागि पार्थ भागवतले ९३ बल खेल्दै ४ चौका प्रहार गरी सर्वाधिक ३६ रन बनाए । मोहम्मद अलियान जाहिरले २९ रन बनाए । हङकङका लागि पाँचौं विकेटका लागि भागवत र जाहिरले ४७ रनको साझेदारी गरेका थिए । हङकङलाई अलआउट गर्न नेपालका हेमन्त धामी, सुबास भण्डारी र दिपेश कँडेलले शानदार बलिङ गरे । हेमन्तले ९ ओभरमा ३ मेडन राख्दै १९ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । यस्तै किफायती बलिङ गरेका स्पिनर सुवास भण्डारीले १० ओभरमा ३ मेडन नै राख्दै जम्मा १० रन २ विकेट लिए । अर्का स्पिनर दिपेश कंडेलले १० ओभर बलिङ गर्दै १७ रन खर्चेर १ विकेट लिए । आकाश चन्दले ८.३ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए । सोमबार नै भएको अर्को खेलमा युएईले सिंगापुरलाई ८ विकेटले हराएर लगातार तेस्रो जित निकालेको छ । अपराजित नेपाल र युएईको ३ खेलबाट समान ६ अंक छ । नेपालले अब अर्को खेल मलेसियासँग मंगलबार खेल्नेछ । नेपाल र युएईबीच अन्तिम खेल बिहीबार हुनेछ । सिंगल राउण्ड रोविनको खेलपछि शीर्ष स्थानमा रहने छ टिम २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा छनोट हुनेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update