Shittalpati
पूर्वखोलाले ल्यायो अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम

पाल्पा, जिल्लाको पूर्वखोला गाउँपालिकाले अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम सञ्चालनमा ल्याएको छ । पालिकाले समाजमा जेष्ठ नागरिकको सम्मानजनक रुपमा बाँच्न पाउने अधिकारलाई सुुनिश्चित गर्दै अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम ल्याएको हो । यो कार्यक्रम पालिकामा आइतबारदेखि सुरु भएको छ ।

पालिकाले जेष्ठ नागरिकको समस्यालाई घरमै पुगेर बुझ्ने र ति समस्याहरुको समाधान खोज्ने उद्देश्यले अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्र ल्याइएको जनाएको छ । यो कार्यक्रम सञ्चालनमा आएसँगै पालिका अध्यक्ष सहितको टोलीले गाउँ गाउँमा रहेका जेष्ठ नागरिककहरुलाई भेटेर उनीहरुको गुनासा, समस्या र अपेक्षा सम्बोधन गर्ने छन् ।

यो कार्यक्रम अन्र्तगत सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्ने र जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण समेत गरिने छ । जेष्ठ नागरिक समाजका पथप्रदर्शक र अभिभावक भएकाले उनीहरुको गुनासा, समस्या बुझ्ने र समाधान गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए । उनले भने ‘अहिले हामी जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता त दिएका छौं तर यतिले मात्र उहाँहरुप्रतिको सम्मान हुँदैन । गाउँमा अधिकांश वृद्धवृद्धाहरु एक्लै हुनुहुन्छ, न स्याहार छ न त विरामी हुँदा औषधो उपचार नै ।’ यि नै जेष्ठ नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै अध्यक्षसँग जेष्ठ नगरिक कार्यक्रम ल्याइएको अध्यक्ष थापाको भनाई छ । यो कार्यक्रम पहिलो चरणमा वडा नम्वर ४ देविनगरबाट सुरु गरिएको छ । विस्तारै उक्त कार्यक्रम अन्य वडामा पनि विस्तार गरिने पालिकाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update