Shittalpati
पाल्पाको विकासमा मन्त्री रानाको तदारूकता

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पामा सडक, पुल, यातायात, पुनर्निर्माण लगायतका क्षेत्रमा थालिएका अधिकांस महत्वपूर्ण योजना र ठेक्काका कार्य रोकिएका छन् । प्रदेश र संघीय सरकारले विकास निर्माणका कार्यलाई विस्तारैविस्तारै सुचारु गर्ने बताए पनि त्यसलाई व्यावहारिक रूप दिन सकेका छैनन् ।

अहिले पनि तानसेन र अन्य क्षेत्रका विभिन्न स्थानमा सडकको अवस्था कन्त बिजोग छ । पानी पर्दा हिलाम्मे हुने र घाम लाग्दा धुलाम्मे हुन पुग्दा स्थानीय पीडित हँुदै आएका छन् । सडक निर्माणको ठेक्का पाएका ठेकेदार कम्पनीहरू गायबजस्तै बनेका छन् । कैयांै सडक र पुलको निर्माण कार्य अपूरो अवस्थामा छन्, केही ठाउँहरुमा पुल नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता स्थानीयको छ । केन्द्रीय र स्थानीय तहका विकास निर्माणको अवस्था अलपत्र बनिरहेको अवस्थामा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले भने पाल्पामा रोकिएका तथा आवश्यक पर्ने स्थानमा भौतिक पूर्वाधार निमार्णका लागि तदारुकता देखाएका छन् । राना उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री भएपनि पाल्पाको विकासका लागि अन्य क्षेत्रका कामहरुमा समेत आवश्यक पहल र सन्वयन भने गर्दै आएका छन् । उनले जिल्लाको उर्जा र सिंचाई क्षेत्रको कामसँगै सडक, पुलका क्षेत्रमा सम्बन्धित निकायसँगहरु पहल र समन्वय गरी अगाडि बढेको पाइन्छ ।

लामो समयदेखि अलपत्र अवस्थामा रहेको जिल्लाको चिला·दी चापपानी–राम्दी सडक निर्माणका लागि मन्त्री रानाले आवश्यक समन्वय गरेका छन् । उनले २०७३ देखि अलपत्र अवस्थामा रहेको यस सडक खण्डको काम तत्काल सुचारु गर्न आवश्यक बजेट व्यवस्थापनका लागि सम्बन्धित निकायमा पहल थालेका छन् । मन्त्री रानाले सडकको स्थलगत अवलोकन गरेपछि सरोकारवालाहरुसँग बसेर आफुहरुले सडक निर्माणका लागि आवश्यक सहजीकरण गर्ने भन्दै तत्काल काम गर्न सम्बन्धित निकायलाई निर्देशन गरेका छन् । उनले सडक निर्माणका लागि आवश्यक बजेट व्यवस्थापनका गरिदिने बताएपछि अब अलपत्र अवस्थामा रहेको उक्त सडकको काम सुचारु हुने बताइएको छ । मन्त्री रानाले भौतिक पूर्वाधार मन्त्रालयका सचिव अमृत श्रेष्ठ, पुर्वाधार विकास निर्देशनालयका प्रमुख भिमार्जुन पाण्डे, पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ता र निर्माण व्यावसायी वाइपी/जय रक्तकाली जेभी पुलचोकका प्रतिनिधि रामप्रसाद भट्टसँग बसी सडक निर्माणमा देखापरेको समस्याका विषयमा छलफल गरेका थिए । मन्त्री रानाले बजेट व्यवस्था गर्ने भएपछि निर्माण व्यवसायीले केही दिनमै काम सुचारु गर्ने बताएको छ ।

८ किमि सडक कालोपत्रे गर्न २०७३ असोज १९ गतेदेखि काम सुरु गरेर २०७४ पुस २० मा सम्पन्न गर्नेगरि २०७३ असोज ४ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । तर निर्माण कम्पनीले रकम अभाव भएको भन्दै काम बिचमै छोडेको थियो । उसले सम्झौता गरिसकेपछि सडकको डिजाइन परिवर्तन गरेको र परिवर्तित डिजाइन अनुसार लागत बढ्ने भएकाले रकम नभएपछि काम रोक्नुपरेको बताएको थियो । रानाले जिल्लाका अलपत्र परेका विकास निर्माणका काम अगाडि बढाउन आफुले सम्बधित निकायसँग पहल गर्दै आएको बताए ।

उनले रोकिएका तथा सरोकारवाला मन्त्रालयसँग गर्नुपर्ने समन्वय सहजीकरणका लागि पहल गर्दै आएको एनजेडीसँगको कुराकानीमा बताए । उनले भने, ‘म सपना देखाउदिन परिणाममा विश्वास गर्छु त्यसैले सपनामा रङ्गिनेभन्दा व्यावहारिक हुनेगरी योजना निर्माण र कार्यान्वयन हुनुपर्छ ।’ अतिरिक्त सुविधा र सेवाका निम्ति मन्त्रीप्रति कोही व्यक्ति लालहीत हुनु नपर्ने उनको भनाइ थियो । स्वाभिमान र इमानलाई बन्दक राखेर अतिरिक्त सुविधा र पैसा कमाउनु आफ्नो राजनीतिक उद्देश्य नरहेकाले विकास निर्माण र मन्त्रालय भित्रका विकास योजना आर्थिक मितव्ययी र पारदर्शी ढङ्गले अघि बढाउने काम आफुले गर्दै आएको मन्त्री रानाले बताए । उनले प्रदेश र संघीय सरकार मातहतका ठूला योजना धेरै ठाउँमा थला पर्दै, पारिँदै आएकाले कसरी समाधान गर्ने भन्ने चुनौती रहेको उल्लेख गर्दै सरोकारवालासँग समन्वयात्मक ढ·ले काम गर्दा नै सफलता हासिल हुने विश्वास व्यक्त गरे । उनले योजना समयमै सम्पन्न गर्ने परिपार्टीको विकास गर्न मातहतका निकायलाई निर्देशन समेत दिदै आएका छन् । मन्त्री रानाले जिल्लाको तानसेन नगरपालिका १० तेल्घाको सुरुङतुङ खोलामा पक्की पुल निर्माणका लागि आवश्यक पहल समेत थालेका छन् । उनले तेल्घा (आमडाँडा) र सुरुङतुङ (गडशाल) लाई जोड्न सुरुङतुङ खोलामा पक्की पुल निर्माणका लागि विज्ञ सहितको टोलीबाट प्रारम्भीक स्थलगत अध्ययन गरिसकेका छन् । यहाँ पक्की पुल नहुँदा स्थानीयले सास्ती भोग्नु परेको पीडालाई दृष्टिगत गरी मन्त्री रानाले पुल निर्माणका लागि आवश्यक पहल थालेका हुन् । पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पुल निर्माणको काम छिट्टै अघि बढ्ने बताइएको छ ।

यस्तै रानीमहल जाने वैकल्पिक सडक गाइघाट (बराङ्दी खोला)मा पनि मन्त्री रानाकै पहलमा पुल निर्माणको काम भइरहेको छ । उनले उक्त पुलको स्थलगत अवलोकन गरी छिटो सक्नका लागि सम्बन्धित निकायलाई निर्देशन गरेका छन् । यस्तै मन्त्री रानाकै पहलमा माथागढी गाउँपालिकाको गोतामेघाटमा पनि रम्भा गाउँपालिका जोड्ने गरी मोटरेवल पुल निर्माणका लागि सम्भाव्यता अध्ययन भएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update