Shittalpati
तानसेनमा मानव अधिकार बारे अन्तर्क्रिया

पाल्पा, जिल्लाको तानसेनमा मानव अधिकारका विषयमा अन्तक्र्रिया भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा वर्ष पुस्तक २०२३ पूर्व वार्षिक समीक्षा तथा मानवअधिकारका विषयमा अन्तक्र्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा सहभागीहरुले मानव अधिकारका क्षेत्रमा विगतमा पनि छलफल र अन्तक्र्रिया हुँदै आएपनि परिणाममूखी हुन नसकेको बताएका छन् । उनीहरुले जिल्लामा मानव अधिकार हनन्का घटनाहरु अध्याधिक भएपनि त्यसको समाधानमा कसैले पनि ध्यान नदिएको बताए । स्वास्थ्य, शिक्षा र बालबालिकाका क्षेत्रमा मानव अधिकार हनन्का घटनाहरु बढी हुने गरेको बताइएको छ । कार्यक्रममा प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्कीले मान अधिकारका विषयमा छलफल हुुने तर परिणाम नदेखिने गरेको बताए । उनले परिणाम देखिने गरी काम गर्न इन्सेकलाई आग्रह गरे । पत्रकार महासंघ पाल्पाका पूर्व सचिव किरण कौसलले सरकारी तवरबाट नै मानव अधिकारका घटनाहरु हनन् हुन नदिन सरकारी नीतिमा कडाई गर्नुपर्नेमा जोड दिए । पत्रकार नवराज ज्ञवालीले अभिलेखमा कार्यक्रमहरु राम्रा भए पनि कार्यान्वयन पक्ष फितलो हुने गरेको बताए । युनाईटेड मिसन अस्पतालका सूचना अधिकारी जीवन भट्टराईले सरकारले नै स्वास्थ्य बिमा कार्यक्रमलाई वेवास्ता गरेको बताए । स्वास्थ्य बिमा कार्यक्रममा मिसन अस्पतालबाट सेवाग्राहीहरु ठगिने गरेको गुनासोप्रति उनले आफुहरुले बिमामा पर्ने औषधि र उपचारको सेवा दिइरहेको बताए । जिल्ला अस्पताल पाल्पाका प्रतिनिधि सुशिल ज्ञवालीले आफुहरुले सेवा प्रवाहलाई चुस्त बनाउने प्रयास गरेको बताए ।

कार्यक्रममा शिक्षा समन्वय ईकाइ पाल्पाका प्रमुख महेन्द्र सुवेदी, पुर्नस्थापना केन्द्र पाल्पाका प्रमुख पुननारायण श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापा, सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख हरिलाल अर्यालले आ–आफ्ना धाराण राखेका थिए । जिल्ला समन्वय पाल्पाका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, मानव अधिकार रक्षक सञ्जालका जिल्ला संयोजक भगवान भण्डारी लगायतले छलफलमा उठेका कुराहरुको सहजीकरण गरेका थिए । उनीहरुले इन्सेकले समय समयमा गर्ने यसप्रकारका कार्यक्रम मार्फत जिल्लाको मानव अधिकार अवस्थाबारे छलफलको वातावरण बनेको बताएका छन् । उनीहरुले सरकारी निकाय र नागरिक समाजसँगको सहकार्यमा मात्र मानव अधिकारमैत्री समाज निर्माण गर्न सकिनेमा जोड दिए । कार्यक्रममा इन्सेकका पाल्पा प्रतिनिध यज्ञमूर्ति तिमिल्सीनाले सन् २०२२ को अवधिमा मानव अधिकार सम्वद्ध ७७ वटा घटनाहरुलाई अभिलेखीकरण गरेको जानकारी गराएका थिए । यो अवधिमा पाल्पा जिल्लामा बालअधिकार घटनाका ६, बलात्कारका १०, राजनीतिक तथा नागरिक अधिकार अन्र्तगत ४, महिला हत्याको १, जातीय बिभेद तथा भेदभावपूर्ण व्यवहारको १ र घरेलु हिंसाका ५० वटा घटनाहरुलाई अभिलेखीकरण गरिएको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update