Shittalpati
पत्रकारहरूलाई मन्त्री रानाको आग्रह– ‘गट्टी जस्तो नबन्नुस्’

रामचन्द्र रायमाझी
पाल्पा, लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले पत्रकारहरुलाई गट्टी जस्तो नबन्न आग्रह गरेका छन् । मंगलबार नेपाल प्रेस युनियन पाल्पा शाखाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रानाले पत्रकारहरुलाई गट्टी जस्तो नबन्न आग्रह गरेका हुन् । उनले पछिल्लो समय पत्रकारहरुले गट्टीको जस्तो भूमिका खेलेकाले त्यस्तो नगर्न आग्रह गरे । मन्त्री रानाले भने ‘पत्रकार निष्पक्ष भएर प्रस्तुत हुनुपर्छ, समाज र राष्ट्रले विश्वास गरेका पत्रकारहरु नै गट्टीको भूमिकामा देखिनु गलत हो ।’ पत्रकार स्वतन्त्र भएकाले कुनै व्यक्तिहरुका रुपमा प्रयोग नहुन मन्त्री रानाले पत्रकारहरुलाई भनेका छन् । उनले लोकतन्त्रको संस्कार बोकेका पत्रकारहरुले सही र सत्य तथ्य समाचारका लागि सोही ठाउँमा आफ्नो कलमलाई प्रयोग गर्नुपर्ने बताए । मन्त्री रानाले भने ‘पत्रकारहरुको कलमबाट नै समाज र राष्ट्र तरङ्गित हुन्छ त्यसैले पनि सही र सत्य तथ्यमा आधारित रहेर कलम चलाउनुहोस् ।’ पछिल्लो समय राजनीतिक दलहरुप्रति जनताको विश्वास गुम्दै गएकाले त्यसतर्फ वास्तविकता बुझेर जनतालाई सुशोचित गर्न उनले पत्रकारहरुलाई आग्रह गरे । मन्त्री रानाले पछिल्लो समय पत्रकारहरुले वास्तविकता नबुझी राजनीतिक दलहरुलाई उचाल्ने गरेको बताए । उनले भने ‘वास्तविकता के हो ? जनता के चाहान्छन्, जनमत कसको छ ? भन्ने कुरा नै नबुझी समाचार लेख्ने प्रवृत्ति बढेको छ, त्यसले समाज र राष्ट्रको हित हुँदैन । यसतर्फ ध्यान दिनुहोस् ।’ कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका उप–सभापति तथा युनियनका सल्लाहकार झपेन्द्र गहिरेले लोकतान्त्रिक विधि र प्रक्रियालाई आत्मसाथ गर्दै स्वतन्त्र र निष्पक्ष रुपमा कलम चलाउन पाल्पाली पत्रकारहरुलाई आग्रह गरे ।

नेपाली काँग्रेस गुल्मीका सचिव तथा युनियन पाल्पाका सल्लाहकार जगदीश भट्टराईले पाल्पाका पत्रकारहरु युनियनको केन्द्रीय नेतृत्वमा पुग्न सफल भएकोमा खुसी व्यक्त गर्दै युनियनको संस्थागत र पत्रकारहरुको क्षमता अभिवृद्धिमा नेतृत्वले ध्यान दिनु पर्ने बताए । कार्यक्रममा युनियनले साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भएको नवौं महाधिवेशनमा निर्वाचित भएका पाल्पाका तीन जना पत्रकारहरुलाई सम्मान गरेको छ । युनियनले केन्द्रीय उपाध्यक्ष (काठमाडौं उपत्यका) मा निर्वाचित भएका जीवन भण्डारी, केन्द्रीय उपाध्यक्ष (लुम्बिनी प्रदेश) मा निर्वाचित माधवप्रसाद अर्याल र केन्द्रीय सदस्य (लुम्बिनी)मा निर्वाचित सुशीला रेग्मीलाई सम्मान पत्रले सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका उर्जा,जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर रानाले सम्मानित तीनै जनालाई सम्मान पत्रले सम्मान गरेका थिए । केन्द्रीय उपाध्यक्षमा निर्वाचित भई सम्मानित भएका पाल्पाका भण्डारी विगत लामो समयदेखि काठमाडौंमा रहेर पत्रकारिता गर्दै आएका छन् । उनी राष्ट्रिय समाचार समिति (रासस)को उपसम्पादक सँगै विभिन्न सञ्चारमाध्यमा क्रियाशिल रहँदै आएका छन् ।

यस्तै अर्को केन्द्रीय उपाध्यक्षमा निर्वाचित भई सम्मानित भएका अर्याल दुई दशकदेखि पत्रकारितामा क्रियाशिल रहँदै आएका छन् । उनी कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादक समेत हुन् । यस्तै केन्द्रीय सदस्यमा निर्वाचित भई सम्मानित भएकी रेग्मी रामपुरमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएकी छन् । उनी राससको संवाददाता समेत हुन् । उनीहरुले आफुहरुलाई युनियनले सम्मान गरेकोमा हार्दिक आभार व्यक्त गर्दै युनियनकै सल्लाहार र समन्वयमा आफुले काम गर्ने बताए । नेपाल प्रेस युनियनका पाल्पा शाखाका सभापति भरत शर्माको अध्यक्षता, उप–सभापति पुस्करराज रेग्मीको स्वागत र सचिब रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update