Shittalpati
पाल्पामा २८ औं विश्व आदिवासी दिवस मनाइँदै

पाल्पा, नेपालका आदिवासी जनजातिजन्य संघ संस्थाहरुले २८ औं विश्व आदिवासी दिवस मनाउन लागेका छन् । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति पाल्पाको नेतृत्वमा विश्व आदिवासी दिवस मनाउन लागिएको हो ।

महासंघ जिल्ला समन्वय परिषद्ले तानसेनमा पत्रकार सम्मेलन गरी यस वर्ष पनि विगतका वर्षहरु जस्तै विभिन्न कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाउन लागिएको जानकारी दिएको छ । महासंघका जिल्ला अध्यक्ष केहर सिंह राना मगरले लामो समयसम्मको आन्दोलनका क्रममा पनि अधिकार सुनिश्चित हुन नसकेको भन्दै उत्सवको रुपमा मनाइने कार्यक्रममार्फत पनि अधिकार सुनिश्चिततका लागि राज्यलाई दबाब दिइने बताए । ‘हामी आदिवासी जनजाति समुदाय लामो समयदेखि आन्दोलनमा छौं । तर, हाम्रो अधिकार सुनश्चित भएको छैन । त्यसैले हामीले मनाउने उत्सवहरुमार्फत पनि हामी हाम्रो मागहरु राज्यलाई सुनाउन चाहन्छौं, देखाउन चाहन्छौं,’ उनले भने ।

दिवसको अवसरमा यस वर्ष महासंघले साउन २३ गते सचेतिकरणका लागि युवाहरुलाई सशक्तिकरण एवं संगठनात्मक प्रशिक्षण कार्यक्रम गर्दैछ । २४ गते भव्य समारोहका बिच विभिन्न कार्यक्रमहरु तय गरेको महासंघले जनाएको छ । मूल समारोहले कार्यक्रमहरुको विषय, स्थान र समयसमेत सार्वजनिक गरेको छ । विश्वका आदिवासीहरुले हरेक वर्षको ९ अगष्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउँदै आएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update