Shittalpati
‘म बनाउन्छु, मेरो रिब्दीकोट’

कृष्ण पोखरेल
पाल्पा, देश संघीय व्यवस्थामा गएपछि पहिलो निर्वाचित स्थानीय सरकारको पाँच वर्षको पदावधि सकिएको छ । यो अवधिमा स्थानीय सरकार संस्थागत हुँदै गएको देखिन्छ । यो जनता नजिकको सरकार पनि हो । जनतालाई नजिकबाट सुन्ने, देख्ने र हेर्ने स्थानीय सरकार नै हो । यो पाँच वर्षमा कतिपय स्थानीय सरकारले विकास निर्माणका राम्रै काम पनि गरेका छन्, भने कतिपय विवादित पनि भएका छन् ।

जनता र स्थानीय सरकार बिच सामञ्जस्यता हुन नसक्दा स्थानीय सरकारका काम सधैँ आलोचित र विवादित बन्दै गएका बेला पाल्पाको रिब्दीकोट गाउँपालिकाले भने जनतासँगको सामञ्जयता कायम गर्न स्वयंसेवी अभियान नै सञ्चालन गरेको छ । उसले जनताहरुमा आफुले गर्न सक्ने स–साना कामहरु समेत स्थानीय, प्रदेश र संघीय सरकारको मुख ताक्नु पर्ने र जथाभावी रुपमा सरकारी बजेट खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गरी स्वयंसेवी भावनाबाट टोल, वडा तथा पालिकाका स–साना कामहरु विना लगानी मै सजिलै गर्न सकिने गरी स्वंयसेवी अभियान सञ्चालन गरेको हो ।

चुनावी घोषणा पत्र, आर्थिक बर्षको नीति तथा कार्यक्रममा स्वंसेवी भावनाबाट रिब्दीकोटमा सामाजिक जागरण अभियान सञ्चालन गरी जनतालाई स्वंयसेवी बनाउँदै सामाजिक काममा सक्रिय गराउने गरी पालिकाले ‘म बनाउछु, मेरो रिब्दीकोट’ अभियान सञ्चालन गरेको छ । गाउँपालिकाले अभियानको पहिलो दिन हार्थाेकदेखि, बतासेसम्मको मुख्य सडकमा झारपात गोडमेल, सडकको फोहोर संकलन, सडकका स–साना खाल्टा खुल्टी मिलाउने, सडक खाल्टा खुल्टीमा माटो गिट्टी हाल्ने, झाडी सफा गर्ने, स–साना पहिरो पन्छाउने काम गरेको छ । अभियानमा आम जनतासँगै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, अधिकृतहरु, कर्मचारी जनपद तथा ट्राफिक प्रहरीहरु खटिएका थिए । गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की नेतृत्वमा गएको अभियान टोली खस्यौली, कुसुमखोला हुँदै बतासे पुगेको थियो । स्वंयसेवी काममा आ–आफ्नो घर टोलबाट सहभागीहरु बढ्दै–बढ्दै बतासे पुग्दा सयौंको संख्या पुगेको थियो । बतासे क्षेत्रमा बिग्रिएको सडक जनता आफैले मर्मत गरेका छन् । पालिकाबाट गरेको भए लाखौ रुपैयाँ बजेट खर्च हुने थियो । तर स्थानीयले भने स्वंयसेवी रुपमा सडक मर्मत गरेका छन् । घर, आगन, टोल छिमेकको स–सानो काममा समेत हामीहरुमा अरुको मुख ताक्ने, स्थानीय सरकार गुहार्ने, नगरे गाली गलौज गर्ने स्वार्थी प्रवृत्ति बढेकाले, जनतालाई स्वंयसेवी भावना जगाउन, घर छिमेकका स–साना कामहरु आफै मिलेर गर्ने बानीको विकास गर्न नीति तथा कार्यक्रम मार्फत नै चालु आर्थिक बर्षबाट यो अभियाना सञ्चालन गरिएको पालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए । यो अभियाना कसैलाई पनि करकाप जवरजस्ती नगरी स्वच्छिक रुपमा सहभागी हुने गरी प्रत्येक महिनाको पहिलो शनिबार रिब्दीकोट भरी सञ्चालन हुने अध्यक्ष कार्कीले बताए । मनमा आनन्द आओस्, समाजसेवा पनि होस्, साथीभाई ईष्टमित्रसँग पनि भेटघाट होस्, स–सानो काममा पालिकाको बजेट पनि खर्च नहोस् भनि ‘म बनाउछु मेरो रिब्दीकोट’ अभियानमा सहभागी भएको पालिका उपाध्यक्ष कान्ता अधिकारीले बताइन् । अभियानमा महिलाहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

हरेक काम कुरामा पैसासँग मात्र जोडिने प्रवृत्ति बढ्दै गएको, सामाजिक हक हित तथा श्रमदानको प्रचलन हराउँदै गएको अवस्थामा पालिकाले जनतालाई स्वंयसेवी समाजसेवी, श्रममुलक अभियानामा गोलबद्ध गराउँदै पालिकाको विकास निर्माणमा सहभागी गराउने उद्देश्यले नीति तथा कार्यक्रम मार्फत यो अभियान सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले बताए । उनले भने ‘यो कार्यक्रमका लागि कुनै बजेट विनियोजन गरिएको छैन, पालिकाका संघ संस्थादेखि वडा तहसम्म जानकारी गराइन्छ, मानिसहरु स्वतःस्फुर्तमा आ–आफ्ना घरेलु सरसमानको प्रयोगबाट सामाजिक काममा खटिने गरी पालिकाले दायरा फराकिलो बनाएको हो ।’ यो अभियान गाउँपालिका सबै वडाहरु, स्वास्थ्य संस्थाहरु, विद्यालय क्लव, विभिन्न संघ संस्थाहरुमार्फत घर–घर टोल–टोल, वडा–वडा हुँदै पालिकामा १२ महिना सञ्चालन हुनेछ । अभियान ५ बर्षसम्म निरन्तर सञ्चालन जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update