Shittalpati
गुल्मीमा मतदाता नामावलीमा नाम दर्ता

तम्घास, गुल्मीमा हालसम्म तीन हजार ७ सय ४२ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गरेका छन् । गत असार १ गतेदेखि हालससम्म एक हजार ७ सय ५७ महिला र एक हजार ९ सय ८५ पुरुषले नाम दर्ता गराएका हुन । जसमध्ये बाहिरी जिल्लाको लागि गुल्मीबाट २८ पुरुष र १८ महिला गरी ४६ जनाले नाम दर्ता गराएका छन् ।

अहिले जिल्ला निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावली कार्य चलिरहेको छ । जसको लागि जिल्लाका विभिन्न स्थानबाट नागरिक कार्यालय आएको जिल्ला निर्वाचन कार्यालयका कम्युटर अपरेटर अर्जुन पन्थीले जानकारी दिए । वालिग नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लगेर जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गर्न सक्ने छ । बसाइँसराइ र विवाह गरेको भए त्यसको प्रमाणपत्रको प्रतिलिपी आवश्यक पर्ने पन्थीले बताए । गुल्मीमा गत वैशाख २९ सम्म १८ वर्ष उमेर पुगेका दुई लाख २४ हजार २ सय ७६ जनाको नाम मतदाता नामावलीमा समावेश छ । जसमा एक लाख १० हजार ५९ पुरुष, एक लाख १४ हजार २ सय १५ महिला र दुईजना अन्य रहेको रहेको पन्थीले बताए । सरकारले निर्वाचनको मिति घोषण नगर्दासम्म मतदाता नामावलीमा नाम समावेश गर्न सकिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । –रासस

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update