Shittalpati
प्रहरीको स्रोत गलत भएपछि... !

रामचन्द्र रायमाझी
पाल्पा, प्रहरी त्यस्तो संस्था हो जसले दिने सूचना आधिकारिक हुन्छन् । समाजका अनेक घटनाबारे रहेका द्विविधा हटाउन पनि प्रहरीलाई विश्वसनीय स्रोतका रूपमा लिइन्छ । सञ्चार माध्यमका लागि पनि प्रहरी सूचना दिने विश्वसनीय संस्था हो । तर, बेला बेलामा प्रहरीले दिने सूचनामै प्रश्न उठ्ने गरेको छ । पाल्पाको तानसेनमा भएको लुटपाटको घटनाका विषयमा प्रहरीबाटै एकै दिन दुई फरक–फरक सूचना आएका छन् । सोमबार विहान ११ः५२ बजे लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट तानसेनको ढुङ्गाखानीस्थित सडकमा अपरिचित व्यक्तिले दुई जनालाई कुटपिट गरी २० लाख नगद चोरी गरेको सूचना प्राप्त भयो । त्यसको ६ घण्टा ३० मिनेट अर्थात् साँझ ६ः२२ बजे जिल्ला प्रहरी कार्यालय पाल्पाले भने लुटपाटबाट नगद चोरी नभएको सूचना सार्वजनिक गर्‍यो । शित्तलपाटी डटकमले प्रदेश प्रहरी कार्यालयबाट एनजेडीलाई प्राप्त मेलमा नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले सार्वजनिक गरेको दैनिक समाचार बुलेटीनको स्रोत प्रयोग गरी सोमबार दिउँसो २ः२३ बजे तानसेनमा अपरिचित व्यक्तिद्वारा लुटपाट गरी नगद चोरी भएको समाचार प्रकाशित गरेको थियो । त्यस पश्चात जिल्लाका अन्य अनलाइन सञ्चार माध्यमहरुले समेत उक्त समाचार प्रकाशित गरे ।

जिल्लामा लुटपाटको समाचार प्रकाशित भएको केही समयपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले भने ति समाचारको खण्डन गर्दै प्रेस विज्ञप्ती सार्वजनिक गर्यो । प्रहरीले सो विज्ञप्ती पनि दुई वटा फरक फरक मिति राखेर सर्वजनिक गरेको थियो । पहिलो साँझ ६ः२२ बजे घटना भएको मिति असार २ र पछि ६ः३० मा साउन २ को मिति राखेर अर्को विज्ञप्ती सार्वजनिक गरेको हो । प्रहरीले विज्ञप्ती समेत हतार–हतारमा सार्वजनिक गरेको पाइन्छ । साढे ६ घण्टाको अन्तरालमा एउटै विषयमा आएका यी फरक–फरक सूचनाले थप अन्योल सिर्जना गरायो । मिडियाहरुले प्रहरीको स्रोत नै उल्लेख गरेर समाचार प्रकाशित गरे पनि प्रहरीबाटै फरक–फरक सूचना सार्वजनिक भएपछि भने अन्यौल सिर्जना गराएको हो । प्रहरी प्रधान कार्यालयले जिल्लाको प्रहरी कार्यालयले पाठएको रिर्पोटलाई नै आधार मानेर बुलेटिन सार्वजनिक गर्दै आएको छ । तर जिल्लाबाट नै फरक–फरक सूचना सार्वजनिक हुँदा सञ्चार माध्यम र आम पाठकवर्ग अन्यौलमा परेका छन् । उक्त विषयमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले भने विहान घटनाको विषयमा केन्द्रीय कार्यालयमा रिर्पाेटिङ गरेको र पछि अनुसन्धान गर्दै जाँदा दुवै पक्षलाई कार्यालयमा बोलाएर छलफल गराउने क्रममा दुवै पक्षबिच सामन्य झगडा हुँदा हातपात भएको तर लुटपाट गरी नगद चोरी नभएको बताए । अनुसन्धान प्रक्रियामा रहुञ्जेल प्रहरीले कुनै पनि कुरा सार्वजनिक नगर्ने दाबी गर्दै उनले उल्टै सञ्चार माध्यमलाई दोष लगाए । थापा भन्छन्, ‘जिल्लाको प्रवक्ताले सार्वजनिक नगरेका कुरा सञ्चार माध्यमले नराखे हुने हो ।’

जिल्ला प्रहरी कार्यालयले प्रारम्भीक अनुसन्धानमा लुटपाट गरी नगद चोरी भएको केन्द्रमा रिर्पोटिङ गरे पनि अनुसन्धान पछि आएको कुरामा मिडियालाई थप दोष देखाएको छ । विहानको रिर्पोटिङलाई आधार मानेर आएका समाचार कसरी झुठो भए ? यहाँबाट पनि प्रहरी माथिको विश्वसनियतामा प्रश्न चिन्ह खडा गरेको छ । प्रहरी प्रधान कार्यालयले तानसेन नगरपालिका–५ ढुङ्गाखानीस्थित सडकमा गाडीबाट पिसाव फेर्न झरेका पूर्वखोला गाउँपालिकास्थित निर्माणाधिन पूर्वखोला पहुँच मार्ग र गुल्मीको स्यालबिसौना–थोर्गा–पानीट्याड्ढी सडकका ठेकेदार ३६ वर्षीय सुमन पन्थ सहित २ जनालाई अपरिचित व्यक्तिले लुटपाट गरी नगद २० लाख चोरी गरेको बुटेलीनमा उल्लेख गरेको छ । तर जिल्ला प्रहरी कार्यालय पाल्पाले सार्वजनिक गरेको विज्ञप्तीमा भने ‘तानसेन नगरपालिका–५ ढुङ्गाखानीस्थित सडकमा विभिन्न मिडिया तथा सामाजिक सञ्चालनमा २० लाख रकमसहित लुटपाट भएको भनि झुठो खबर प्रसारण गरेको हुनाले सो कुरा सत्य नभएको र उक्त घटनाको सम्बन्धनमा दुवै पक्षलाई प्रहरी कार्यालयमा ल्याई छलफल गराउने क्रममा दुबै पक्षबिच सामन्य झै–झगडा तथा हातपात भएको र रकम लुटपाट नभएको भनि खुल्न आएको र दुबै पक्षबिच सहमति भई मिलापत्र भएको’ उल्लेख छ ।

धान कार्यालयबाट आएको बुलेटिनलाई नै आफुहरुले जस्ताको त्यस्तै सार्वजनिक गर्ने गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी नायव निरीक्षक किरण केसीले बताए । उता प्रधान कार्यालयका इन्स्पेक्टर घना थापाले देशभरका जिल्ला प्रहरी कार्यालयबाट आएका रिर्पोटहरुलाई नै केन्द्रीय प्रहरी समाचार कक्षले संकलन गरी बुलेटीनको रुपमा सार्वजनिक गर्ने गरेको बताए । पाल्पा प्रहरीले विहान लुटपाट भई नगद चोरी भएको रिपोर्ट गरेको तर पछि अनुसन्धान गर्दै जाँदा त्यस्तो फेला नपरेको जानकारी आफुहरुलाई प्राप्त भएको इन्स्पेक्टर थापाले बताए । कुनै पनि घटनाको अनुसन्धानपछि मात्र यथार्थ थाहा हुन्छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रारम्भिक रुपमा गरेको अनुसन्धानबाट प्राप्त विषयलाई प्रधान कार्यालयमा पठाई त्यहाँबाट सार्वजनिक भएको कुरालाई सञ्चारमाध्यमा स्रोत उल्लेख गरी समाचार आएको भएपनि पछिल्लो अनुसन्धानबाट प्राप्त नतिजालाई आधार मानेर सञ्चार माध्यममा आएका खबर झुठो भनि उल्लेख गर्नु गलत भएको भन्दै संम्वद्ध सञ्चार माध्यमले आपत्ति जनाएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update