Shittalpati
गुल्मीको रेसुङ्गामा साउने मेला

गुल्मी, जिल्लाको धार्मिक स्थल रेसुङ्गामा हरेक वर्ष जस्तै यस वर्ष पनि साउने मेला लागेको छ । साउन महिनाभर यहाँ विशेष पूजापाठ एवं धार्मिक क्रियाकलाप गर्ने गरिन्छ । रेसुङ्गाको पोखरीमा नुहाउनाले पाप नष्ट हुने धार्मिक विश्वास छ । रेसुङ्गामा पूजा गर्न तथा नुहाउनका लागि अर्घाखाँची, पाल्पा, बुटवल, बागलुङलगायतका जिल्ला एवं भारतबाट समेत भक्तजन रेसुङ्गा आउने गर्दछन् । श्रद्धालुहरु पोखरीमा नुहाउन तथा पूजा गर्न साउन महिनाभर रेसुत्ता पुग्ने गर्दछन् । यहाँ साउन १ गते, औँसी र एकादशीका दिन विशेष पूजा हुने गर्दछ ।

रेसुङ्गामा साउन लागेसँगै चहलपहल सुरु भएको छ । गत वर्ष कोरोना महामारीका कारण मेला हुन नसकेको यहाँ यस पटक भने भएको छ । साउन १ गतेका दिन यहाँ श्रद्धालुहरुको निकै भीड लागेको थियो । साउन भर विभिन्न किसिमका धार्मिक कार्यक्रमहरु रहने रेसुङ्गा संरक्षण समितिले जनाएको छ । नेपालकै चार धाम मध्यकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भूल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन श्रद्धालु भक्तजनहरुको भिड लाग्ने गर्दछ । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको आध्यत्मिक महत्व रहेको जनश्रुति छ । रेसुङ्गामा द्वापर युग, त्रेतायुगदेखि नै यसको महत्व रहेको विभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको छ । ऋषि श्रङ्गेश्वर, यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋषि महार्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ । द्वापरयुगदेखि नै सिद्ध स्थल बनेको रेसुङ्गा विभिन्न कालखण्डहरु पार गर्दै अहिले सुन्दर, पुण्य भूमि बनेको छ । समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक, ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ । रेसुङ्गा डाँडाको टुप्पोमा ४० फिट अग्लो भ्युटावर निर्माण गरिएको छ । यहाँबाट गुल्मीका अधिकांश भू–भागका साथै बाग्लुङ, स्याङ्जा, अर्घाखाँची, पाल्पा र प्युठानसम्मको स्थान देख्न सकिन्छ । यहाँ रहेको पोखरी महाप्रभु लक्ष्मीनारायणले निर्माण गरेका हुन् । यस पोखरी हिन्दू धर्मावलम्बीहरूका लागि पवित्र मानिन्छ । यहाँ हरिशयनी, हरिबोधनी एकादशी र साउन महिनाभरि स्नान गर्नेहरूको घुइँचो लाग्ने गर्दछ ।

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update