Shittalpati
तानसेनमा अपरिचित व्यक्तिद्वारा लुटपाट गरी नगद चोरी

पाल्पा, जिल्लाको तानसेनमा अपरिचित व्यक्तिद्वारा लुटपाट गरी नगद चोरी भएको छ । तानसेन नगरपालिका–५ ढुङ्गाखानीस्थित सडकमा गाडीबाट पिसाव फेर्न झरेका पूर्वखोला गाउँपालिकास्थित निर्माणाधिन पूर्वखोला पहुँच मार्ग र गुल्मीको स्यालबिसौना–थोर्गा–पानीट्याङ्की सडकका ठेकेदार ३६ वर्षीय सुमन पन्थ सहित २ जनालाई अपरिचित व्यक्तिले लुटपाट गरी नगद चोरी गरेका हुन् ।

उनीहरुले आईतबार राती पन्थसहित २ जनाको साथबाट नगद २० लाख चोरी गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको प्र.३ ०१–०२४ च ९१४३ नम्बरको कारमा पन्थ सहित ३ जना सवार रहेका थिए । उनीहरु मध्ये दुई जना ढुंगाखानी नजिकै कार रोकी पिसाब फेर्न लागेका बेला ७/८ जना अपरिचित ब्यक्तिहरुको समूहले हेल्मेटले कुटपिट गरी साथमा रहेको उक्त नगद तथा कारको चावी समेत खोसी फरार भएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका पन्थ सहित २ जनालाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ । लुटपाटमा संलग्न व्यक्तिहरूको खोजीकार्य भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update