Shittalpati
महिलालाई आयआर्जनमा जोड्न गुडिया र कुसन बनाउने सिप

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले महिलाहरुलाई आयआर्जनमा जोड्न विभिन्न सिपहरु सिकाउँदै आएको छ । पालिकाले यहाँका महिलाहरुलाई सिप सिकेर आयआर्जनमा जोडी आत्मनिर्भर बनाउने विभिन्न किसिमका सिपहरु सिकाउँदै आएको हो ।

उसले केही दिन अघि कसेनी सामुदायिक सिकाइ केन्द्र कसेनीको आयोजनामा वडा –३ का महिलाहरुलाई दुई दिने गुडिया र कुसन बनाउने तालिम दिएको छ । पछिल्लो समय गुडिया र कुसनतर्फ धेरैको आकर्षण बढ्दै गएका बेला यसलाई व्यवसायिक बनाउन पालिकाले महिलाहरुलाई तालिम दिएको हो । तालिमले महिलाहरुलाई व्यवसायिक रुपमा लाग्न टेवा पुग्ने भएकाले उनीहरुलाई सिप सिकाईतर्फ लगाइएको वडा अध्यक्ष तेजबहादुर घर्ती मगरले बताए । उनले महिलाहरुलाई कुनै न कुनै तवरबाट सिपमा संलग्न गराउने गरिएको बताए । महिलाहरु चुलोचौकोमा मात्र सिमित हुने र आर्थिक रुपमा अरुसँग निर्भर बन्नुपर्ने अवस्थाको अन्त्य गर्न उनीहरुलाई सिपमूलक तालिममा केन्द्रीत गरिएको वडाध्यक्ष घर्तीको भनाई छ । अध्यक्ष घर्तीले भने ‘हामी महिलालाई सिपसँग जोडेर आत्मनिर्भरता तर्फ लैजादै छौं । हिजोका दिनमा भएका तालिम र आज भोलि हुने तालिमको प्रभावकारीता मूल्यांकन गरी व्यवसायितामा जोड्ने वडाको योजना र कार्यक्रम छ ।’

सिप सिकेका महिलाले घरको काम सकेर पनि सामानहरु बनाउन सक्ने सामुदायिक सिकाइ केन्द्र कसेनीले जनाएको छ । अन्य व्यापार व्यवसाय गरेका तथा जागिर खाने महिलाले पनि फुर्सदको समयमा यो व्यवसाय गर्न सक्ने केन्द्रले जनाएको छ । महिलालाई आत्मर्भिर बनाउन तथा आर्थिक रुपमा सफल बनाउन यो सिप सहयोगी बन्ने केन्द्रको विश्वास छ । गुडिया र कुसनको बजारमा राम्रो माग भएकाले सामान उत्पादन गरिसकेपछि बिक्रीको समस्या नभएको केन्द्रले जनाएको छ । तालिममा सिकेका कुराहरुलाई आफुहरुले व्यवहारमा उतार्ने सहभागीहरुले बताए । पालिकाले अन्य वडाहरुमा पनि महिलाहरुलाई सिपमूलक तालिम दिर्दै आएको छ । उसले आवश्यकता र माग अनुसारका विषयमा केन्द्रीत गरी तालिम दिने गरेको हो । पालिकाले कुनै वडाहरुमा महिलालाई सिलाईकटाई तालिम पनि दिदै आएको छ । गाउँपालिकाले विगतदेखि नै सिपमूलक क्षेत्रका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्दै आएको छ । महिलाहरुलाई आयआर्जनमा जोड्न सके मात्र पालिकाको समृद्धि र विकास हुने पालिकाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update