Shittalpati
संसद् चलाउँदै रिब्दीकोटका युवा

कृष्ण पोखरेल
पाल्पा, संसद् हलको ढोकामा कडा सुरक्षा छ । सुरक्षाकर्मी र संसदका मर्यादापाक लामबद्ध छन् । हल प्रवेशका लागि आफनो परिचय र पहिचान चाहिन्छ । सबै व्यक्ति संसद हलमा जान पाउँदैनन् ।

संसदहल भित्र तोकिए अनुसारको आफ्नो स्थानमा बस्नुपर्छ । तोकेको स्थान भन्दा फरक स्थानमा बसे तत्काल मर्यादापालकले नियममा ल्याउन अग्रसर हुन्छन् । प्रवेशद्धारा बन्द भएपछि जनाउ घण्टी बज्छ । योसँगै सभाध्यक्ष, उपाध्यक्ष र सचिव सहित मर्यादापालकको टोली हलमा प्रवेश गर्छ । रोमा बसेका सांसद्हरुले उठेर स्वागत गर्छन् । त्यो लगत्तै राष्ट्रिय गान सुरु हुन्छ । अगाडि मञ्चको बिचमा सभाध्यक्ष, उपाध्यक्ष र सचिव दायाँ, बाँया बस्छन् । मञ्चको अघिल्लो रोममा सत्ता पक्षका सांसद (वडा अध्यक्ष, सदस्यहरु), पछिल्लो रोमा प्रतिपक्ष सांसद, त्यसपछि पत्रकार, विशिष्ठ ब्यक्तिहरु क्रमश संसदमा छन् । संसदमा सभाध्यक्षले आगामी वर्षको लागि युवा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । सांसद त्यसलाई सुनिरहेका छन् । यसलाई हेर्दा लाग्थ्यो साच्चीकै संसद चलिरहेको छ । तर, यो दृष्य पाल्पाको रिब्दीकोट गाउँपालिकामा युवाले सञ्चालन गरेको नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रम हो । राष्ट्रिय खेलकुद तथा युवा मन्त्रालय राष्ट्रिय युवा परिषदको सहयोगमा जिल्ला युवा समिति पाल्पाको सहयोग र रिब्दीकोट गाउँपालिकाको समन्वयमा गाउँपालिकाका युवाहरुलाई नमूना युवा गाउँ सभा अभ्यास गराइएको छ । गाउँपालिकाका प्रत्येक वडाबाट ३ जनाको दरले ८ वटा वडा बाट २४ जना र पालिकाबाट ५ जना गरी २९ जना युवाहरुको सहभागितामा नमुना गाउँसभा अभ्यास गरिएको हो । कार्यक्रममा प्रत्येक वडाको युवा क्लवबाट १ महिला अनिवार्य हुने गरी ३ जनाको दरले सहभागी गराईएको छ । कार्यक्रममा १६ बर्ष देखी २४ बर्ष सम्मका युवाहरुको सहभागिता रहेको छ । यो अभ्यास गाउँपालिकाका युवाहरुका लागि निकै प्रभावकारी र सकारात्मक रहेको पालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए । उनले यस्तो खालको अभ्यासले युवाहरुमा राजनीतिक अभ्यास सँगै नेतृत्व क्षमताको विकास हुने समेत बताए ।

नमूना गाउँसभा अभ्यास मा,गाउँसभाका सदस्यहरुको निर्वाचन विधिबाट हुने छनौट, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यहरुले खेल्ने भूमिका, निति तथा कार्यक्रम प्रस्तुती, बजेट प्रस्तुति, योजनाहरु संकलन, छनौट, वडा समितिमा छलफल तथा पालिकामा पेस गर्ने, बजेटमाथीको दफादार छलफल, विषयगत समितिहरु बिच छलफल, बजेट पारित लगायतका विषयमा सैद्धान्तिक तथा व्यबहारिक अभ्यास गराएको प्रमुख प्रशिक्षक लिलबहादुर विकले बताए ।

युवालाई राजनीतिमा जिम्मेवारी बनाउदै समाज र राष्ट्रप्रति उत्तरदायी बनाउने, युवालाई देशप्रति जिम्मेवार बनाउने, युवाहरुमा असल चरित्र निर्माण गर्ने, समग्रमा युवाहरुमा नेतृत्वदायी क्षमताको विकास गराउने, भोलिको दिनमा जनप्रतिनिधी हुँदा काम गर्ने शैली, नीति निर्माण तथा कानुनहरुको जानकारी गराउने उद्देश्यले एक जिल्ला एक पालिका गरी ७७ वटै जिल्लामा यो अभियान सञ्चालन गरिएको युवा समिति पाल्पाका अध्यक्ष तुलबहादुर अधिकारीले बताए ।

उनका अनुसार पाल्पामा रिव्दीकोट गाउँपालिकामा मात्र यो कार्यक्रम गरिएको हो । २९ जना सहभागीबाट १ जना महिला र एक जना पुरुष छनौट गरी नमुना प्रदेश सम्भा अभ्यास कार्यक्रममा पठाईने उनले बताए । प्रदेश सभाबाट पनि प्रतिनिधीहरुको छनौट गरी संघीय नमुना अभ्यासको लागि पठाइने जिल्ला अध्यक्ष अधिकारीले बताए । नमुना अध्यासमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य तथा प्रमुख प्रशासकीय अधिकृतहरुले गर्ने काम कर्तव्य, जिम्मेवारी तथा अधिकार, बजेट बाडफाँड तथा योजना छनौट, सभा सञ्चालन, सभा समापन लगायतका विषयमा जानकारी पाएको तालिममा सहभागी रिब्दीकोट २ की विष्णुकला अधिकारीले बताईन् । नमुना गाउँसभा अभ्यास असार १४ गते देखी सञ्चालन भई असार १७ गते सकिने छ ।

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update