Shittalpati
एकल पुरुषलाई पनि भत्ता  !

रामचन्द्र रायमाझी
पाल्पा,  आर्थिक रुपमा विपन्नै भए पनि सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउन पुरुषको हकमा ७० वर्ष, साउनदेखि भने ६८ पुग्नुपर्छ । महिलाको हकमा भने श्रीमान्को मृत्युपछि सामाजिक सुरक्षाभत्ता पाउन्छन् । विपन्न तथा सहाराविहीन भए पनि एकल पुरुषले भने अझै सम्म सरकारबाट केही पनि पाउन सकेका छैन । संघीय सरकारबाट एकल पुरुषका लागि केही कार्यक्रम नभए पनि केही स्थानीय सरकारले भने उनीहरुलाई केही सम्बोधन गर्ने खालका कार्यक्रमहरु भने ल्याएका छन् । पाल्पाका दुई स्थानीय सरकारले आर्थिक वर्ष २०७९/०८० मा एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने तयारी गरेका छन् । यहाँका रम्भा गाउँपालिका र निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा समावेश गरेका छन् । ५० करोड २९ लाख ८३ हजार बराबरको बजेट ल्याएको रम्भा गाउँपालिकाले साउन १ गतेदेखि लागु हुने गरी एकल पुरुषलाई भत्ता दिन लागेको छ । एकल पुरुषहरूको तथ्याङ्क सकलन गरी मासिक रुपमा भत्ता दिने व्यवस्था मिलाउन लागिएको पालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता कार्यक्रममा समावेश गर्न नीति, कार्यक्रम तथा योजना र बजेटमै समावेश गरिएको उनले एनजेडीलाई जानकारी दिए । अध्यक्ष भण्डारीले भने ‘कार्यविधि बनाई वडा तहबाट तथ्याङ्क सकलन गरी गरी साउन १ गतेदेखि कार्यान्वयनमा लैजान्छौं ।’ पालिकाले एकल पुरुषका लागि कम्तीमा मासिक एक हजार भत्ता दिने गरी कार्यविधि बनाउन लागेको जनाइएको छ । आर्थिक रुपमा एकदमै विपन्न तथा विभिन्न दीर्घ रोगका कारण पीडित बन्दै आएका एकल पुरुष यो कार्यक्रमले राहत मिल्ने अध्यक्ष भण्डारीले विश्वास व्यक्त गरे ।

विवाह गरी श्रीमतिको मृत्यु भएका पुरुषहरुको हकमा मात्र यो कार्यक्रम लागु हुने छ । रम्भामा एक सय भन्दा बढी एक पुरुष रहेको आकंलन गरिएको छ । यस्तै निस्दी गाउँपालिकाले पनि एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने भएको छ । एघारौँ गाउँसभामार्फत नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले पालिकामा बसोबास गर्ने ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्ने बताए ।

पालिकाले सामाजिक सुरक्षाभत्ता कार्यक्रम नीति तथा कार्यक्रम र बजेटमा राखी साउन १ देखि नै भत्ता दिन सुरु गर्ने जनाएको छ । उसले कार्यविधि बनाउने तयारी थालेको छ । मासिक एक/एक हजारका दरले भत्ता उपलब्ध गराईने पालिकाले जनाएको छ । विपन्नकै कारण कैयौं एकल पुरुषले सामान्य उपचारसम्म पाउन सकेका छैनन् भने कतिको हातमुख जोड्नै मुस्किल भएको अवस्था छ । एकल महिला झै एकल पुरुषको पीडा पनि कम भने पक्कै छैन । सन्तानविहीन पुरुषहरू पनि छन् । कतिलाई त सामान्य बिरामी हुँदा हेरचाह गर्ने आफन्तकै भर पर्नुपर्छ । यस्तो अवस्थाका एकल पुरुषका लागि सामाजिक सुरक्षा भत्ताले केही भए पनि राहत भने दिने छ ।

यस्तै निस्दी गाउँपालिकाले ‘ग’ वर्गको अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षाभत्ता समेत उपलब्ध गराउने भएको छ । सरकारको नीतिअनुसार यसअघि ‘क’ र ‘ख’ वर्गको परिचयपत्र प्राप्त गर्ने अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध हुँदै आएकोमा गाउँपालिकाले ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्न लागेको हो । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६४ करोड ९८ लाख २५ हजार बराबरको बजेट ल्याएको छ । रम्भा गाउँपालिकाले पनि ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई पनि मासिक रुपमा सामाजिक भत्ता दिने भएको छ । यस अघि एकमुष्ट रुपमा वार्षिक भत्ता दिदै आएको पालिकाले साउन १ गतेदेखि भने मासिक रुपमा भत्ताको व्यवस्था गर्न लागेको हो ।

 

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update