Shittalpati
३६ वर्षपछि कुलोमा पानी
तिनाउ गाउँपालिका १ कचलमा सञ्चालमा आएको कुलो । तस्वीर प्रकाश नेपाल/एनजेडी

रामचन्द्र रायमाझी
पाल्पा, आयोजना सञ्चालन भएको ३६ वर्षपछि कुलोमा पानी पुगेको छ । जिल्लाको तिनाउ गाउँपालिका–१, कचलमा २०४३ सालमा कचल फाँटमा सिचाई आयोजनको काम सुरु भए पनि बजेट अभाव र भौगोलिक कठीनाईका कारण अलपत्र परेको आयोजना ३६ वर्षपछि सञ्चालनमा आएको हो ।

स्थानीयले २०४० सालमा तत्कालीन राजा वीरेन्द्र पाल्पा आउँदा कचल फाँटमा सिँचाइ कुलो माग गरेका थिए । उक्त माग अनुसार राजाको आदेशबाट २०४३ देखि काम सुरु भयो । पाल्पाकै सबै भन्दा ठूलो र प्रतिष्ठीत योजनाको रुपमा रहेको कचल फाँटमा सिँचाइ योजना ३६ वर्षपछि सञ्चालनमा आएको हो । तीन करोड बजेटबाट २०४८ सम्म काम थालिए पनि योजना पूरा हुन सकेन् । मुहानतिर भीर पहरो परेपछि फाँटबाटै पहिले काम सुरु भएको योजनाको कार्य हुँदा हुँदै बजेट सकिएपछि अलपत्र परेको स्थानीयको भनाई छ । पछि बजेट नपरेपछि काम हुन नसकेको स्थानीय गोपालबहादुर अर्याल बताउँछन् । सरकारी तवरबाट २०४८ सालपछि योजनालाई खासै महत्व नदिएका कारण कुलो अलपत्र बन्न पुगेको थियो । आर्थिक वर्ष २०६०/०६१ बाट मात्र योजनाले प्राथमिकता पाउन थालेको स्थानीयवासी अर्याल बताउँछन् । २०७३/७४ मा १३ करोड ९५ लाख बजेट परेपछि कामले गति लिएको थियो । साबिकको पश्चिमाञ्चल क्षेत्रीय सिँचाइ निर्देशनालय मार्फत योजना स्वीकृत भएर काम अघि बढेको थियो । पहिला पहिलाको निर्मित संरचना भन्दा नयाँ संरचना भएकाले निर्माणमा कठिनाई भएका कारण समय लम्बियो ।

योजना सम्पन्न हुने नदेखेरै यहाँबाट ठूलो सख्यामा बसाईसराई समेत बढेको थियो । अलपत्र अवस्थामा रहेको योजनाले अहिले आएर सार्थकता पाएको छ । डिभिजन सिचाइँ प्राविधिकको रेखदेखमा सम्पन्न नौं किलो मिटर लम्बाई मध्य भौगोलिक कठीनाईका कारण एक किलो मिटर पाइप प्रयोग गरिएको र बाँकी भागमा नहर नै निर्माण गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाल्पाका सुचना अधिकारी महेश महतले बताए । अहिलेसम्म ११ करोड रुपैयाँ खर्च भएको उनको भनाई छ । यो योजनालाई स्थानीय सरकारले समेत महत्वपूर्ण योजनाको रुपमा हेरेको छ । आगामी दिनमा यस योजनालाई आर्थिक उपार्जको माध्यमसँग जोड्ने तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । चुरे पहाडको काखबाट बग्ने खोलामा स्थायी संरचना निर्माण गरी ९ किलो मिटर नहर र पाइपबाट पानी ल्याएपछि सिंगो फाँट नै अहिले हराभरा हुन पुगेको छ ।

धान रोपाइँ गर्ने समयमा कुलोमा पानी आएपछि यहाँका स्थानीय उत्साहित भएका छन् । वर्षाैंदेखि अलपत्र अवस्थामा रहेको कुलोबाट पानी आउँला र खेती गरौंला भनि नसोंचेका यहाँका स्थानीय पानी आएपछि भने उत्साहित भएका हुन् । धेरैलाई सपना जस्तै भएको कचल सिँचाइ जल उपभोक्ता समितिका सचिव रेवन्तबहादुर छहरी आफनो अनुभव सुनाउँछन् । चुरे पहाडको काख वरपर जंगल बिचमा फाँटमा अत्यन्तै उर्वर भूमि भए पनि कृषकहरुले जसोतसो एक बाली धान, मकै लगाउँदै आएका थिए । धान खेतीका लागि आकाशे पानीमा निर्भर बनेका यहाँका किसान अहिले खोलाको पानी खेतमै आउँदा दङ्ग छन् । फाँटमा अविरल रुपमा नहरबाट पानी आउन थालेपछि कृषकहरुले धानको ब्याड राखिसकेको र लाग्दै असारमा रोपाइँ गर्ने तयारीमा रहेको स्थानीय कृषक मनकला सोमै बताउँछिन् । सिचाइँ योजना सम्पन्न भएपछि यहाँका चार सय घर परिवार लाभान्वित भएका छन् । अहिले यहाँको करिब चार सय हेक्टर क्षेत्रफल जमिनमा सिचाइँ सुविधा पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update