Shittalpati
इन्धनमा भारी मूल्यवृद्धि पछि पनि निगम घाटामा

पाल्पा,  नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको हो । मूल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर १ सय ९९ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर १ सय ९२ रुपैयाँ पुगेको छ । भारतबाट नेपालमा इन्धनको मूल्य बढेर आएको भन्दै निगमले इन्धनमा भाउ बढाएको हो ।

निगमका अनुसार अब डिजल र मट्टितेलकोमूल्य प्रतिलिटर २७ ले बढेर १ सय ९२ पुगेको छ । यसैगरी, आन्तरिक तथा बाह्य हवाई इन्धनको मुल्य पनि बढेको छ । तर, खाना पकाउने ग्याँसको भाउ भने बढेको छैन । इन्धनको मूल्यमा भारी वृद्धि गरे पनि निगमले अझै पनि ठूलो घाटा रहेको जनाएको छ । बढेको मूल्यअनुसार पनि निगमले आउँदो एक महिनामा कुल ४ अर्ब ७० करोड नोक्सानी रहने अनुमान गरेको छ । योमध्ये खाना पकाउने एलपी ग्यासबाट सबैभन्दा धेरै २ अर्ब २८ करोड नोक्सानी पर्ने निगमले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । खाना पकाउने ग्यासमा हाल प्रतिसिलिण्डर ७ सय ५१ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ । त्यस्तै अब पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ५८ पैसा, डिजेलमा १३ रुपैयाँ ९५ पैसा नोक्सानी रहेको निगमको भनाइ छ । मट्टितेलमा प्रतिलिटर ४३ रुपैयाँ तथा हवाई इन्धनमा (आन्तरिक) १३ रुपैयाँ ६१ पैसा र वाÞय हवाई इन्धनमा भने ५६ रुपैयाँ ६७ पैसा नाफा छ ।

सरकारले जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको भए तापनि त्यसयता यो दोस्रो मूल्यबृद्धि हो । इन्धनमा भाउ बढ्दा समग्र वस्तु तथा सेवामा भाउ बढने हुनाले महंगी झन् बढ्ने देखिन्छ । इन्धनमा मूल्य वृद्धि भएपछि चौतर्फीक विरोध भएको छ । मूल्यवृद्धिले जनता मारमा परेको भन्दै सत्तारुढ दल तथा प्रतिपक्ष दलका सांसदहरूले सरकारो विरोध गरेका छन् । उनीहरुले सातामै दुई पटकसम्म मूल्यवृद्धि गरेको र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अन्य वस्तुमा पनि अत्यधिक मूल्यवृद्धि हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले सरकारलाई मूल्यवृद्धि नियन्त्रणमा राख्न माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले सरकार मूल्यवृद्धि रोक्न चुकेको पनि बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले भने पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक भएको बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update