Shittalpati
बजेटमा लुम्बिनी प्रदेशको प्राथमिकता कृषि, स्वास्थ्य र शिक्षा

हाम्रा संवददाता

पाल्पा, लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको छ । कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले बजेट ल्याएको हो ।

बुधबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बजेट बजेट प्रस्तुत गर्दै पुँजीगत बजेट २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार रुपैयाँ छुट्याइएको बताए । यो कुल बजेटको ५७.४१ प्रतिशत हो । चालु खर्चका लागि १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार रुपैयाँ बजेट छुट्याइएको छ । यो कुल बजेटको ३१ .२६ प्रतिशत हो । वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड १० लाख रुपैया छुट्याइएको मन्त्री खड्काले बताए । कृषि पेशातर्फ युवाहरूको आकर्षण बढाउन प्रदेश सरकारले ‘कृषि यान्त्रिकीकरण कार्यक्रम’का लागि बजेटमा प्राथमिकता दिइएको छ । धान, मकै, गहुँ, तोरी, दलहन आदि बालीका ब्लक कार्यक्रमहरूको निरन्तरताका लागि सात करोड ३६ लाख, राष्ट्रिय खाद्य सुरक्षा मिसनतर्फ धान, मकै, दलहन, तेलहन, रैथाने बाली, कृषि जैविक विविधता, राइस मिल मोडेल, मकै बीउ उत्पादन स्रोत केन्द्र लगायत खाद्यान्न बालीको प्रवद्र्धनका लागि सात करोड ६० लाख र पशुपक्षीमा लाग्ने रोग नियन्त्रणका लागि खोप अभियान कार्यक्रमसहित अन्य कृषि प्रवद्र्धनात्मक कार्यक्रम कार्यान्वयन गर्न २२ करोड २० लाख विनियोजन गरिएको छ । कृषि तथा पशुपक्षी विकास कार्यक्रम र सिँचाइसहितको कृषि विकास कार्यक्रमका लागि २९ करोड विनियोजन गरिएको छ ।

कम्पोष्ट मल उत्पादन र वितरणका लागि कम्पोष्ट मल कारखाना र कम्पोष्ट र प्राङ्गारिक मल उत्पादन तथा प्रशोधन केन्द्रका लागि चार करोड २५ लाख बजेट विनियोजन गरिएको छ । प्रदेशलाई आत्मनिर्भर बनाउन खाद्यान्न बालीको उत्पादन र उत्पादकत्व वृद्धिमार्फत आयात प्रतिस्थापन कार्यक्रमका लागि बजेट विनियोजन भएको छ । सहकारी संस्थाहरूमा आवद्ध महिलाका लागि उद्यमशील बनाई आयआर्जन र गरिबी निवारण गर्न एक करोड विनियोजन गरिएको छ । यस्तै प्रदेश सरकारले शिक्षातर्फ बुटवलको कान्ति माध्यमिक विद्यालयलाई प्रदेशको विज्ञान विषय अध्ययन गर्ने हबको रूपमा विकास गर्न, रुपन्देहीको छपियामा विज्ञान संग्रहालय स्थापना गर्न, कक्षा ११ र १२ मा विज्ञान विषय पठनपाठन गर्ने सामुदायिक विद्यालयहरूलाई आकर्षक शैक्षिक संस्थाको रुपमा विकास गर्न २४ करोड रकम विनियोजन गरेको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिन ७० करोड छुट्याइएको छ । प्रदेश सरकारको स्वामित्वमा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना गरिने पनि बजेटमा उल्लेख छ । यस्तै प्रदेश सरकारले बजेट मार्फत स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको छ । उसले एक स्थानीय तह एक एम्बुलेन्स सेवा उपलब्ध गराउन एम्बुलेन्स नभएका स्थानीय तहमा गर्भवती एवं प्रसूति महिलालाई प्राथमिकतामा राखी सेवा उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरेको जनाएको छ । प्रदेशका सरकारी तथा सामुदायिक अस्पतालमा निःशुल्क रक्त सञ्चार सेवा उपलब्ध गराउने , विपन्न नागरिकको क्यान्सर, मुटुको भल्भ फेर्ने र मिर्गाैला प्रत्यारोपणका लागि उपचारमा सहयोग गर्न प्रतिव्यक्ति दुई लाखका दरले उपलब्ध गराइने बजेटमा उल्लेख छ । प्रदेशलाई कोभिड विरुद्धको खोपको सुश्चितता गर्ने पनि बजेटमा उल्लेख छ । लुम्बिनी प्रादेशिक अस्पतालमा पेटसम्बन्धी रोगको लागि अत्याधुनिक इन्टेरोस्कोपी सेवा सञ्चालन गर्न र अत्याधुनिक उपकरण मार्फत अस्पतालबाट उत्पादन हुने फोहरमैला व्यवस्थापनका लागि आठ करोड ५० लाख विनियोजन गरिएको छ । गुल्मी, प्युठान, बर्दिया र पृथ्वीचन्द्र अस्पतालमा डीआर एक्सरे सञ्चालनका लागि एक करोड ४० लाख विनियोजन गरिएको छ । पाठेघरको मुख र स्तनको क्यान्सर परीक्षणलाई हरेक स्थानीय तहसम्म विस्तार गर्न आवश्यक बजेट विनियोजन गरिएको र सुत्केरी र नवजात शिशुको पोषण सुधार गर्न निःशुल्क सुत्केरी पोषण आहार वितरण कार्यक्रमका लागि पाँच करोड विनियोजन गरिएको छ । यस्तै प्रदेश गौरवका आयोजनाको रुपमा लुम्बिनी प्राविधिक विश्वविद्यालय, बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र पाल्पाको रामपुरदेखि रोल्पाको पातिहाल्नासम्मको सडकलाई प्रादेशिक गौरवका आयोजनाको रुपमा अगाडि बढाइने प्रस्तुत बजेटमा उल्लेख गरिएको छ । 

प्रदेश गौरवका यी आयोजनाकालागि एक अर्ब ६९ करोड विनियोजन गरिएको जनाइएको छ । प्रदेश सरकारले ‘बेरोजगार लाई रोजगार साथमा छ प्रदेश सरकार’ भन्ने नीति अनुरुप श्रम बजारमा रोजगारीको अवसर तथा सम्भावनाको अध्ययन गरी बेरोजगार युवाशक्ति, लक्षित वर्ग र द्वन्द्व प्रभावित परिवारलाई माग र आवश्यकतामा आधारित सीपमूलक तालिम र वस्तुगत सहयोग कार्यक्रम सञ्चालन गर्न तीन करोड ४८ लाख विनियोजन गरिएको छ । वैदेशिक रोजगारीमा जाने युवालाई तालिम तथा सीपविकास कार्यक्रम सञ्चालन, वैदेशिक रोजगारीबाट फर्केका युवाको सीप परीक्षण गरी सीपसँग सम्बन्धित पेशा व्यवसायमा आबद्ध गराउन आवश्यक व्यवस्था मिलाइने बजेटमा उल्लेख छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update