Shittalpati
लैङ्गिक हिंसा रोक्ने महिला जनप्रतिनिधिको अठोट

कृष्ण पोखरेल
पाल्पा, तानसेनका महिला नयाँ जनप्रतिनिधिहरुले लैङ्गिक हिंसा रोक्ने अठोट गरेका छन् । लैङ्गिक हिंसा बढ्दै गएपछि उनीहरुले कारण पहिचान गरी रोक्ने अठोट गरेका हुन् ।

अधिकाश लैङ्गिक हिंसा मादक पदार्थ सेवन तथा लागु औषध सेवनका कारण हुने गरेकाले त्यस्ता गतिविधी नियन्त्रण गर्न यहाँका १४ वटै वडाका महिला जनप्रतिनिधिहरु सक्रिय भएर लाग्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय पाल्पाले तानसेनमा गरेको लैङ्गिक हिंसा तथा लागु औषध नियन्त्रणको विषयक अन्तक्र्रिया कार्यक्रममा यहाँका महिला जनप्रतिनिधीहरुले टोल–टोलमा गएर मादक पदार्थ सेवन तथा नियन्त्रणका लागि जनचेतना जगाउने, कानुनी कुराहरुको बारेमा सचेतना फैलाउने, हिंसाका घटनाका बारेमा प्रहरी, प्रशासनमा जानकारी गराउने बताएका छन् । अधिकाश महिला हिंसा, लैङ्गिक हिंसाका घटनाहरु, लागु पदार्थकै कारण हुने भएकाले नियन्त्रण तथा रोकथामका लागि नवनिर्वाचित महिला जनप्रतिनिधीहरु र पाल्पाका १० वटै पालिकाका सामाजिक शाखाका प्रमुख तथा प्रतिनिधीहरु बिच जिल्ला प्रशासन कार्यालय पाल्पाले छलफल अन्तक्र्रिया गराएको हो । घरेलु रक्सी, जाँड जस्ता मादक पदार्थका कारण ९९ प्रतिशत महिला हिंसाका घटना हुने गरेकाले गाउँ, शहरमा लुकी छिपी हुने घरेलु मदिराको उत्पादन, बेचविखन तथा ओसार पसारमा महिला जनप्रतिनिधीहरु चनाखो हुनुपर्ने प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । अहिले पाल्पाका कतिपय स्थानमा आय आर्जनको नाममा अवैध तरीकाबाट महिलाहरुले नै घरेलु रक्सी बनाउने, पसल पसलमा बेच्ने, पुरुषलाई खुवाउने, साँझ त्यही रक्सी खाई श्रीमानले श्रीमती, बालबच्चासँग झगडा गर्ने, कुटपिट गर्ने जस्ता कामहरु हुँदै आएको प्रजिअ पन्तले बताए ।

घरेलु मदिरा उत्पादन, वेचविखन, ओसार पसार जस्ता गतिविधी नियन्त्रण गर्न सके महिला हिंसा ९० प्रतिशतले घट्ने प्रजिअ पन्तले बताए । लैङ्गिक हिंसा अन्तर्गत ९० प्रतिशत महिला र १० प्रतिशत पुरुषहरु पिडित भएको उजुरीहरु पर्ने गरेका छन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र थापाले लैङ्गिक हिंसाको अवस्था, हुने कारण, रोकथाम तथा नियन्त्रणका उपायहरुको बारेमा जानकारी गराएका थिए । प्रहरी निरीक्षक थापाले लागु पदार्थको उत्पादन, कारोवार, सेवन, कानुनी अवस्था, दण्ड सजाय, लागु औषध दुरव्र्यसनीमा फसेका व्यक्तिहरुलाई उद्धारको अवस्था लगायतका विषयमा जानकारी दिएका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भक्तीसरा रानाले घरधन्दा देखी कार्यालयका कामहरु, विहानदेखी साँझ सम्मका कामहरु महिलाहरुले गर्नुपर्ने, हिंसामा पनि महिलाहरु परेको अवस्थामा जनप्रतिनिधीहरुले यस्ता विषयमा जानकारी लिई नियन्त्रणको अभियान चलाउनु पर्ने बताईन् । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको अध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाको स्वागत र प्रशासकीय अधिकृत रमा श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update