Shittalpati
६८ वर्षीय पुनले बल्ल पाए नागरिकता

रामचन्द्र रायमाझी
पाल्पा, तानसेन नगरपालिका ५ बराङ्दी शित्तलडाँडाका रनबहादुर पुनले ६८ वर्षको उमेरमा बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । उनले शुक्रबार जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । विसं. २०१० साल असारमा जन्मिएका पुनलाई प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले सम्पूर्ण कागजी प्रक्रिया पुरा गरी नागरिकता हस्तान्तरण गरेका छन् । पुनले पितृत्व र मातृत्व ठेगाना नभएकै कारण नागरिकता पाउन सकेका थिएनन् । विगत लामो समयदेखि आफ्नो पहिचान खोज्न ठूलै कसरत गरेका उनले अन्ततः केही व्यक्तिहरुको पहलमा नागरिकता पाउन सफल भएका छन् । नेपालमै जन्मिएको र हुर्किएको भएपनि अहिलेसम्म उनले आफू नेपाली नागरिक भएको कुनै पहिचान पाउन सकेका थिएनन् । तानसेन बजारमा ५/६ वर्षको उमेरमा २०१५ सालमा घुम्दै हिडेको अवस्थाममा फेला परेका उनी तत्कालिन समयमा कैलाशनगरको एक घरमा बस्दै आएको बताइन्छ । बाटोमा भेटिएका उनलाई कैलाशनगरका उदयबहादुर सिलवालले संरक्षण गर्दै आएका थिए । लामो समय उनको संरक्षणमा रहेका पुनलाई सिलवालको निधनपछि उनका छोरा कृष्णबहादुर सिलवालले संरक्षण गर्दै आएको बुझिन्छ ।

उनकैको संरक्षकत्वमा पुनको अहिले नागरिकता बनेको हो । पुनले नागरिकता बनाउन थुप्रै सरकारी निकायमा धाए । जता गएपनि आश्वासन बाहेक केही नपाएका उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुंवर र राप्रपाका नेता देवेन्द्रबहादुर रायमाझीको विशेष पहलमा वडा अध्यक्ष रामबहादुर रावल र वडा सचिव ऋषिराम घिमिरेको सिफारिसमा अन्ततः नागरिकता पाएका हुन् । स्थानीय चक्रबहादुर सोमै, जितबहादुर रावल, अर्जुन बहादुर खड्का, रामबहादुर सोमै र विष्णुबहादुर खड्काको सनाखतमा पुनलाई नागरिकता दिलाउन सफल भएको राप्रपाका अध्यक्ष कुवंरले बताए । उनले विगत ३ वर्षदेखि उनको नागरिकता बनाउन पहल गरे पनि विशेष कारण बन्न नसकेको बताउदै अहिले सम्पूर्ण प्रक्रिया पुरा गरेर नागरिकता बनाउन सफल भएको बताए । कंवुरले पुन जस्ता धेरै व्यक्तिहरुको नागरिकता बनाउनदेखि अन्य समस्यामा समेत सहयोग गर्दै आएका छन् । विगतका प्रमुख जिल्ला अधिकारीहरुले पुनको मातृत्व र पितृत्वको ठेगाना नखुलेको भन्दै नागरिकता दिन नमानेको नागरिकता बनाउन सहयोग गर्दै आएका राप्रपाका नेता देवेन्द्र बहादुर रायमाझीले बताए । उनले भने ‘तत्कालिन सिडियोहरुले बुबा वा आमाको नागरिकता लिएर आएमा मात्र नागरिकता दिने अठान राखेका कारण उनको नागरिकता बन्न सकेको थिएनन् ।’ अहिले प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले भने सनाखत गर्ने व्यक्ति र वडाको सिफारिसमा नेपालको नागरिकता ऐन २०६३ बोमोजिम पितृत्व र मातृत्व ठेगाना नभएको भनि नागरिकता दिइएको बताए । उनले नेपाली नागरिक भएको तर, घर ठेगाना, बाबुआमा नखुलेका नागरिकहरुलाई नागरिकता ऐन २०६३ बोमोजिम पितृत्व र मातृत्व ठेगाना नभएको भनि नागरिकता दिने व्यवस्था अनुरुप पुनलाई नागरिकता दिइएको बताए । प्रजिअ शर्मा आएपछि पुन जस्तै धेरै उमेर पुगेर पनि नागरिकता पाउन नसेकाका पाल्पाका तीन जनाले जागरिकता पाएका छन् ।


तानसेन अर्गेलीका एक पुरुष, बगनासकालीकी एक महिला र तानसेनका पुनले नागरिकता पाएका हुन् । पुनले धेरै कसरत पछि नागरिकता पाउँदा आफुलाई खुसी लागेको बताउँछन् । सानैदेखि तानसेनमै हुर्किएका पुनले तानसेन –३ की चेतकुमारी कनौजेसँग विवाह गरेका छन् । विवाहपछि उनले श्रीमतिको नामबाट शित्तलडाँडामा घर जग्गा जोडेका छन् । उनका तीन छोरा मध्ये एक छोरा र एक छोरीको नगारिकता बनाउने उमेर समेत भइसको छ । तर बुबाकै नागरिकता नहुँदा उनीहरु नागरिकता बनाउनबाट बञ्चित भएका थिए । नागरिकता नभएकै कारण विवाह भएकी छोरीलाई उनका श्रीमानले मुद्दा हालिदिएका छन् । नागरिकता नभएको विषयलाई लिएर उनका श्रीमानले अदालतमा मुद्दा हालेको र छोरीले अपमान खेप्नु परेको बुबा पुनले बताए । पुन आफैमा अपाङ्ग समेत हुन् । नेपाली भएको मुख्य पहिचान नागरिकता नै नपाएका उनी अहिलेसम्म राज्यबाट पाउनुपर्ने सबै प्रकारका सेवा सुविधाबाट बञ्चित थिए । उनको परिवार अहिले स्थानीय साहु महार्जनकहाँ खेतीपातीको काम गर्दै आएको छ । साथीहरुकै लहलहैमा गाडी चढेर तानसेन आएको स्मरण गर्दै पुन भन्छन् ‘नजानिदो उमेरमा बुबाको काख छोडेर आइयो, अहिले घर कहाँ हो, बुबा, आमा र आप्mन्त कहाँ छन् केही थाहाँ छैन् ।’ उनका अहिले तीन छोरा, दुई छोरी र एक श्रीमती छन् । स्मरण रहोस् पुनले नागरिकता नपाएको विषयलाई लिएर नवजनचेतना दैनिक र शित्तलपाटी डटकमले २०७६ जेठ १९ गते समाचार प्रकाशित गरेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update