Shittalpati
माथागढी गाउँसरकारको दशौं गाउँसभा, दुई विधेयक पारित

रामचन्द्र रायमाझी

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले दशौं गाउँसभा गरेको छ । ‘हाम्रो माथागढी हाम्रो सान,समृद्ध माथागढी हाम्रो पहिचान’ भन्ने मूल उद्देश्य सहित गाउँपालिकाले दशौं गाउँसभा गरेको हो । गाउँसभाबाट गाउँपालिकाले दुई विधेय पारित गरेको छ । उसले खानेपानी तथा सरसफाई विधेयक २०७८ र चालु आर्थिक वर्षको विनियोजन संशोधन विधेयक पारित गरेको हो ।

त्यस्तै गाउँपालिकाले गाउँसभामार्फत २०७८/०७९ को अर्धवार्षिक प्रगति प्रतिवेदनको समीक्षा तथा छलफल समेत गराएको छ । सभाको गाउँपालिका अध्यक्ष तथा सभाका सभाध्यक्ष सन्तोष कुमार थापा मगरले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै अध्यक्ष थापाले साढे चार वर्षको समयमा सिमित स्रोत साधानको प्रयोग गरी जनताका केही अपेक्षाहरु पूरा गर्न सफल भएको बताए । उनले चाहाँदा चाहाँदै पनि कर्मचारी अभाव र कोभिडका कारण जनताका केही अपेक्षाहरु पुरा गर्न नसकिएको प्रति दुःख व्यक्त गरे । स्थानीय तहमा निर्वाचित भएर आइसकेपछि सरकारको पक्षबाट गर्नुपर्ने कार्यलाई निरन्तर रुपमा लगिए पनि कर्मचारी अभावले योजना तथा कार्यक्रमको कार्यान्वयनमा समस्या भएको अध्यक्ष थापाले बताए । उनले भने ‘गाउँपालिकामा ३५ जना स्थायी निजामती कर्मचारीको दरबन्दी रहेता पनि हालसम्म ९ जना मात्र स्थायी निजामती कर्मचारीहरुबाट सेवाप्रवाह गरिदै आइएको छ ।’ जिल्लामै पहिलो पटक कक्षा १ देखि ८ सम्म आफ्नै स्थानीय पाठ्यक्रम लागु गर्न आफुहरु सफल भएको उनको भनाई छ ।

३ सय २२ योजना मध्ये ४१.६२ प्रतिशत योजना सम्झौता गरिएको अध्यक्ष थापाले बताए । सभामा गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले माथागढी गाउँपालिकाको विनियोजन ऐन २०७८/०७९ लाई संशोधन गर्न विनियोजन विधेयक प्रस्तुत गरेकी थिइन् । प्रस्तुत विधेयकलाई सभाबाट सर्वसहमत रुपमा पारित गरिएको छ । उपाध्यक्ष भट्टराईले उक्त विधेयकमा चालु आर्थिक वर्षका लागि गाउँपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यका लागि चालु, पूँजी खर्च र वित्तिय व्यवस्थापनको रकम समेत गरी ५६ करोड, ३३ लाख ३८ हजार ४ सय ३४ को संशोधन रकम प्रेश गरेकी थिइन् । उनले सामुदायिक विद्यालयमा कार्यरत बालशिक्षा सहजकर्ता र विद्यालय सहयोगीहरुलाई उनीहरुले खाइपाई आएको पारिश्रमिक थप गरी मासिक १५ हजार पुर्‍याउने, विद्यालय लेखा कर्मचारीहरुले खाइपाई आएको सुविधामा मासिक २ हजार थप गर्ने लगायतका प्रस्ताव पेश गरेकी थिइन् । गाउँपालिकाले गाउँसभामार्फत स्वच्छ,सुरक्षित र गुणस्तरीय खानेपानी तथा सरसफाई सेवामा पहुँच प्राप्त गर्ने नागरिकहरुको मौलिक अधिकारको सम्मान, संरक्षण र परिपूर्ति खानेपानी, सरसफाई र स्वच्छतासम्बन्धी सेवा उपलब्ध गराउने सम्बन्धमा खानेपानी तथा सरसफाई विधेयक २०७८ पारित गराएको छ ।

यस्तै सभामा प्रमुख प्रशासकिय अधिकृत दिनेश ज्ञवालीले चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उनले शिक्षक कर्मचारी बिमा, ६ वटा उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण , २ हजार ९ सय १६ जना नागरिकको निःशुल्क मुटु परीक्षण, कोभिड १९ विरुद्ध ८९% नागरिकलाई खोप, स्वास्थ्यकर्मीण्लाई तालिम सञ्चालन गरिएको, १५ शैयाको अस्पताल निर्माण सुरु लगाएतका योजनाहरु समेटिएको बताए ।

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update